काठमाण्डौ । सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्थाको आइपीओ पाउन समेत भाग्यकै भर पर्नुपर्ने भएको छ । आइपीओका लागि आवेदन दिनेहरुको भाग्यको फैसला बुधबार हुने भएको हो । 

सपोर्ट माइक्रोफाइनान्सको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइपीओको बाँडफाँड कात्तिक २२ गते बुधबार हुनेछ । 

एनएमबी क्यापिटलको काठमाण्डौ नागपोखरीस्थित मुख्य कार्यालयमा आइपीओ बाँडफाँड हुनेछ, चिठ्ठामार्फत । 

सपोर्ट माइक्रोफाइनान्सले गत असोज १८ गतेदेखि २३ गतेसम्म १ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । आइपीओमा माग गरेभन्दा १३४ गुणा बढी आवेदन परेको थियो । 

कुल १ करोड ८० लाख रुपैयाँ मूल्यको आइपीओमा देशभरका २ लाख ३६ हजार आवेदकबाट २ अर्ब २४ करोड बढीको आवेदन परेको थियो । 

सेयरको सार्वजनिक निश्कासनका लागि गत साउनबाट लागूू नयाँ नियमावलीअनुसार आइपीओमा आवेदन गर्ने प्रत्येक आवेदकले न्यूनतम १० कित्ता पाउनैपर्ने व्यवस्था छ । मागभन्दा बढी आवेदन परेको खण्डमा गोलाप्रथामार्फत आइपीओको बाँडफाँड हुने र सो क्रममा चिठ्ठा पर्नेहरुले न्यूनतम १० कित्ता पाउनेछन् । 

यो नियम अनुसार चिठ्ठामार्फत १६ हजार ७ सय ४० आवेदकले १० कित्ताको दरले सेयर पाउनेछन् भने बाँकी २ लाख १९ हजार बढी आवेदकले रित्तो हात हुनुपर्नेछ ।