काठमाण्डौ । संक्रमितको संख्या ५०० माथि पुगेको र एक कोरोना संक्रमितले ज्यान गुमाएको सप्तरीमा भोलि(मंगलबार)देखि एकसाता लामो निषेधाज्ञा जारी गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचनामार्फत भोलिदेखि एक सातासम्मका लागि राजविराज नगरपालिकासहित सप्तरीको सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रष्ट पारेको हो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म सप्तरीमा कोरोना संक्रमितको संख्या ५३१ पुगेको छ र बढ्ने क्रम रोकिएको छैन । हालसम्म यो जिल्लामा कोरोना संक्रमणका कारण एकजनाको ज्यान गइसकेको छ । 

संक्रमण बिस्तार हुने क्रम बढेसँगै प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिएको छ । निषेधाज्ञा जारी भएको अवधिमा अत्यावश्यक बाहेकको सेवा संचालन गरिए स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।