काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको छ । 
नेपाल धितोपत्र बोर्डबाट सबैको लघुवित्तले एक सय रुपैयाँ अंकित दरका ५ लाख ३० हजार कित्ता सेयरको आईपीओ निष्कासन अनुमति पाएको हो । कम्पनीको पाँच करोड ३० लाख मूल्यबराबरको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ । यो
रेटिङले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको दर्शाउँछ । 
इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।
तनहुँको बन्दीपुरस्थित केन्द्रीय कार्यालय रहेको यो कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीमा संस्थापकतर्फको ७० प्रतिशतबराबरको ११ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ भने आईपीओ बिक्रीपछि चुक्तापुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।