काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्थाको बिहीबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ ।

नेप्सेमा संस्थाले बुधबार शेयर कारोबारका लागि सेयर सूचीकरण गराएको थियो । नेप्सेले संस्थाको शेयर कारोबारका लागि SABSL कारोबार संकेत र प्रतिकित्ता रु. १००.८८ देखि अधिकतम रु. ३०२.६२ सम्मको ओपनिङ कारोबार प्राइस रेन्ज प्रदान गरेको छ । यही कारोबार संकेत र प्राइस रेन्जका साथ संस्थाको कारोबार सुरु भएको हो ।

संस्थाले बुधबार ५ लाख ३० हजार कित्ता साधारण शेयरसहित कूल १६ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको थियो। लघुवित्तले गत साउन १ गते ५ करोड ३० लाख मूल्यबराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । शेयर साउन १० गते बाँडफाँड भएको थियो ।

कुल निश्कासित कित्तामध्ये ८ हजार २५० कित्ता लघुवित्त कम्पनीका कर्मचारीका लागि, २६ हजार ५०० कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ४ लाख ९५ हजार २५० कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

यो कम्पनीको आइपीओ मागको तुलनामा करिब ११ गुणाले ओभरसब्स्क्राइब्ड भएको थियो । जसका कारण सर्वसाधारणका लागि छुट्याइएको कित्तामा १० कित्ताको दरले हिसाब गर्दा आवेदन दिएकामध्ये ४९ हजार ५२५ भाग्यमानी आवेकदले मात्र सेयर पाएका थिए ।