यो भदौको महिना सेयर बजारमा यसै पनि हरियाली हुने समय हो। यतिबेला राम्रा–राम्रा कम्पनीले धमाधम प्रतिफल घोषणा गर्ने तयारी गर्दैछन्।

अहिले संसारभर कोभिड–१९ को असर छ। यसले उत्पादनमूलक कम्पनीमा केही असर गर्ने देखिन्छ। तर यही अवस्थामा सेयर बजारमा रौनक र चमक आएको छ।

अझ अचम्म के छ भने नेपालमा मात्रै नभएर संसारभर नै केही समय घटेको सेयर बजार यही समयमा सबैभन्दा उच्च विन्दु छोएको छ। अमेरिकाको डाउ जोन कोभिड–१९ सुरु भएपछि तल्लो विन्दु १८ हजारमा आयो र अहिले उच्च विन्दु २८ हजारमा चल्दैछ।  अन्य युरोप र एसियाको मार्केट पनि औसतभन्दा माथि नै छन्। भोलि नेपालकै सेयर बजार पनि अहिलेसम्मकै उच्च भएमा अनौठो मान्नुपर्दैन।  

आखिर किन हुन्छ यस्तो ?

अर्थशास्त्रका दिग्गजहरुको पनि मगज खल्बलाउने विषय र खोज तथा अनुसन्धानको विषय पनि हो यो। सेयर बजारमा जहिले पनि लगानिकर्ताको मनोविज्ञानले काम गर्छ।  

सेयर बजारका गुरु वारेन बफेटले भनेका छन्, ‘सेयर बजार भनेको त्यस्तो यन्त्र हो, जहाँ अधैर्य लगानीकर्तासँग भएको सम्पत्ति धैर्य गर्ने लगानीकर्ताकोमा पुर्याउँछ।’ त्यसैले केही समयको प्रतीक्षा गर्दा बजारबाट ठूलै सम्पत्ति पनि हाता लाग्न सक्छ। 

यो पैसा छाप्ने खास मेसिन कहाँ होला ? 

पैसा गन्ने मेसिन हरेक बैंकभित्र हुन्छ भने छाप्ने मेसिन हरेक सेयर ब्रोकेर अफिसभित्र हुन्छ। यथार्थमा सेक्युरिटी प्रिन्टिङ मेसिन सेयर बजारमा हुन्छ। अलिकति अक्कल पुर्याउनुपर्ने कुरा के हो भने सही समयमा सही कम्पनी छनोट नै महत्वपूर्ण हो।

सेयर बजारमा जहिले पनि अबसर हुन्छ। बजारमा अबसर भनेको नै पैसाको ब्रिफकेस हो। बेला–मौकामा आउने अवसर गुमाउनु नै पैसाको ब्रिफकेस गुमाएसरह हो। तर मुख्य चुनौती भनेको कहिले बजार छिर्ने र कहिले निस्कने भन्ने हो। अर्थात समय नै पैसा हो। हामीले ‘टाइम भ्यालु अफ मनी’ भनेर त पढेकै विषय हो। बजार घटेको समय बजार छिर्ने अवसर हुन्छ। लगानिकर्ताले जहिले पनि बजार घटेको बेला छिर्ने अवसर ठानेर बजारले आफूलाई ढोका खोलिदिएको ठान्नुपर्छ। त्यस्तो बेला ‘ब्लु चिप’ कम्पनी खरिद गरिहाल्नुपर्ने हुन्छ। 

मुख्य कुरा मार्केटको ट्रेन्ड कुन हो भनेर अध्ययन तथा खोजतलास गर्नुपर्छ। बजारमा जहिले पनि एउटा न एउटा कम्पनीले लिडिङ गरेको हुन्छ। लिडिङ कम्पनीलाई चिनेर किन्न सकियो भने छोटो समयमा पनि आम्दानी हुने गर्छ। 

मार्केटको ट्रेन्ड बुझिसकेपछि कुन कम्पनीमा लगानी गर्ने भन्ने मुख्य कुरा हो। यसमा लगानीकर्ताले कम्पनी छनोट विधि थाहा हुनुपर्छ। 

कम्पनी छनोट गर्दा कम्पनीको विगत, वर्तमान र भविष्यको सम्भावना तथा व्यापार हेर्नुपर्छ। खासगरी रिटर्न अन इक्विटी बढ्दै गएको कम्पनी छनोट गर्नुपर्छ। कम्पनी छनोट गरिसकेपछि कुन समयमा खरिद गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ। बजार करेक्सन भएको समय छिर्नु उत्तम हुन्छ। 

अहिले बजार बढ्नुपर्ने खास कारण के होला ? 

बजार घट्नु–बढ्नु स्वभाविक हो। बजारलाई प्रभावित गर्ने मुख्य तत्व ब्याजदर हो। जुन अहिले एक अंकतिर आएको छ। 

दोस्रो हो, बजारको साइकल। बजारले लगभग चार–पाँच वर्षको साइकल पूरा गरेको हुँदा बजारमा लगानीकर्ताको मनोविज्ञान बलियो भएको छ। 

अर्को मुख्य कुरा बजारको विकास र विस्तार् पनि महत्वपूर्ण हो। अहिले बन्दाबन्दीको अवस्थामा सबैले अनलाइन सुविधा लिएर घर–घरबाट करोबार गर्नु र विदेशबाट पनि अनलाइनको सदुपयोग गर्नुले बजार बलियो र मजबुत भएको हो। दैनिक दुई अर्बभन्दा बढीको कारोबार हुनुले निकट भविष्यमा बजारले ठूलो फड्को नमर्ला भनेर भन्न सकिन्न। 

साधारण सेयरमा सरदर चार लाख आवेदन पर्ने गरे पनि अहिले पछिल्लो अवस्थामा ६ लाख आवेदन परेको हुँदा सेयर बजारमा व्यापक विकास र विस्तार भएको बुझिन्छ। अझै बैंकलाई ब्रोकर लाइसेन दिएमा र गाउँगाउँबाट सेयर खरिदबिक्री भएमा बजार धेरैले कल्पना गरेभन्दा फरक बाटोमा चल्न पनि सक्छ।

कोभिड–१९ पहिले १६३१ सम्म पुगेको सेयर बजार यही भाइरसले विश्वव्यापी माहामारी फैलिएपछि लगानीकर्ताको मनोविज्ञान कमजोर भएसँगै बजारमा केही करेक्सन्  देखिएको थियो। तीनपटकभन्दा बढी ११ सयमा सपोर्ट लिएर फर्किएको बजार पछिल्लोपटक १३ सयमै लामो समय स्थिर भएको छ। हरेकपटक बजार घट्दा माथिल्लो विन्दुमा सपोर्ट लिएर फर्किएको हुँदा बजार मजबुत बलियो र फरकिलो हुँदैछ भन्ने हो।  

विश्व बजार हेर्दा पनि कोभिड–१९ ले सेयर बजारलाई नकारत्मक रुपमा ठूलो असर गरेको देखिन्न। आर्थिक हिसाबले यसको असर यो वर्षभन्दा अर्को वर्ष पर्न सक्छ। त्यसका लागि आर्थिक गतिविधि कसरी चल्छन् भन्ने कुरा मुख्य हो। यदि ब्याजदर घटिरह्यो र अन्य क्षेत्र ठप्पै भयो भने सेयर बजारमा नकारात्मकभन्दा सकारात्मक प्रभाव पर्न जान्छ। मुख्य कुरा ब्याजदर र बजारमा हुने आर्थिक गतिविधि नै महत्वपूर्ण हुन्छ।

सेयर बजारमा रौनक आउनको अर्को कारण पछिल्लोपटक राजनीतिक कारण पनि हो। मन्त्रीमण्डल हेरफेर हुन सक्ने हल्लाका कारणले पनि बजार तातेको हो। अर्थमन्त्री युवराज खतिवडा सेयर बजारप्रति सकारात्मक नभएको भन्ने कुरा त्यति सत्य होइन। सुरुका दिनमा अनुदार देखिए पनि पछि आएर लगानीकर्ताले तिर्नुपर्ने लाभकर घटाइदिएका थिए।  अहिले उनी बस्नु र जानुमा बजारमा तात्विक भिन्नता हुन्न तर बजार मनोविज्ञानमा चल्ने हुँदा केही समय बजार उत्तारचढाव हुन सक्छ।

बजार बढ्नुमा अर्को कारण अहिले सुन र डलरको मूल्य आकासिनु पनि हो। नेपाली बजारमा सुनको मूल्य बढेपछि लगानीकर्ता सेयरबजारमा आकर्षित भएका हुन भने डलरको मूल्यवृद्धिसँगै रेमिट्यान्स बढेको र ब्याजदर घटेका कारण पनि बजारमा सकारात्मक असर देखिएको हो। 

अझै आश्चर्यजनक के छ भने सेयर बजार र कोभिड–१९ बीच पोजेटिभ कोरिलेसन देखिएको छ। यसले आगामी दिनमा कस्तो असर पार्छ, त्यो त हेर्नै बाँकी छ। तर, अहिलेलाई यसको सम्बन्ध सकारात्मक देखिएको छ।

सेयर बजार अलटाइम हाई हुँदा बजारमा केही लक्षण देखा पर्छन्। अघिल्लोपटक उच्च  हुँदाको एउटा मुख्य लक्षण के थियो भने जब बैंकहरुले सेयर लोन लिन विज्ञापन र फोन गर्न सुरु गर्छन् अनि बुझे हुन्छ अब बजारमा बुलिस यात्रा सुरु भयो। मुख्य लक्षण यही हो, बैंकमा पैसै–पैसा भएपछि बोलाई–बोलाई बैंकको पैसा बजारमा आउँछ। ब्याजदर एक अंकमा सीमित हुन्छ। टोल–टोल र चोक–चोकका चिया पसलमा सेयर बजारको चर्चा फेरि सुरु हुन्छ तर लगानीकर्ताले आफ्नो होस र विवेक भने हरहमेशा कायम राखिराख्नुपर्ने हुन्छ। राम्रा र ब्लु चिप कम्पनीमा गरेको लागनीले सधैँ नाफा दिन्छ।