काठमाण्डौ । अनलाइन कारोबार प्रणाली सुरुवातको तीन महिना बढी भइसक्दा समेत यसमा सुधार हुन नसकेपछि बजारप्रति लगानीकर्ताको विश्वास टुट्न थालेको छ ।
नेप्सेले अनलाइनको भद्रगोल अवस्थालाई सम्हाल्न नसक्दा त्यसले बजार र लगानीकर्ताको मनोबलमा नकारात्मक असर पारिरहेको हो ।
यहीकारण पूँजीबजारको विकास तथा सुधारका लागि अर्थमन्त्रालयबाट गठित कार्यदलको सुझावका आधारमा धेरै राम्रा काम भए पनि बजारले गति लिन सकेको छैन ।
नेप्सेले करोडौं खर्च गरी तयार गरेको भनिएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली विश्वस्तरको रहेको भने पनि बारम्बार बिग्रिरहने थोत्रो गाडीजस्तै भएपछि लगानीकर्ताले दैनिकजसो दुःख पाएका छन् ।
दैनिकजसो कुनै न कुनै समस्या दोहोरिरहने अनलाइन प्रणालीको सुधारका लागि नेप्से व्यवस्थापन गम्भीर देखिएको छैन । यसले समेत लगानीकर्ताको मनोबल उकास्ने काम नभएको विश्लेषकहरु बताउँछन् ।
नेप्से नेतृत्व अनलाइन प्रणालीको भद्रगोल अवस्थामा सुधार ल्याउनुको साटो गल्ती ढाकछोप र भ्रमको खेती गर्नमै व्यस्त देखिने र यसले लगानीकर्तामा बजार संचालक आफूहरुको लगानीको सुरक्षाप्रति गम्भीर छैन भन्ने सन्देश जाँदा समेत बजारको सेन्टिमेन्ट बिग्रिएको विश्लेषक बताउँछन् ।
अनलाइन प्रणालीको समस्यामा सुधारका लागि नेप्सेको बेवास्ता र लापरबाहीबाट लगानीकर्ता जति दुःखी र हैरान छन्, उनीहरुलाई कारोबारमा सहजता कायम गरिरहेका ब्रोकरहरु समेत दिक्क भइसकेका छन् । ब्रोकरका फोरमहरुमा यस्तो अवस्थामा ब्रोकरेज हाउसको तालाचाबी नै नेप्सेलाई बुझाउनुपर्ने आवाज समेत पछिल्लो समय उठ्न थालेको छ ।
पछिल्लो समय लगानीकर्ताका नेताहरुको सम्पत्ति छानबिन तथा उनीहरुले उधारोमा गरेको कारोबारमा समेत नेप्से र धितोपत्र बोर्डका अधिकारीहरुले चलाख्याईपूर्वक खेल्ने काम गरी उनीहरुको मुख बन्द गरेको जस्तो देखिएको छ । लगानीकर्ता नेताहरु समेत दैनिकजसोको नेप्से अनलाइनको भद्रगोल अवस्थाप्रति बोल्न छाडेका छन् । यसले बजारमा बढिरहेको भद्रगोलको व्यवस्थापन झनै चुनौतिपूर्ण बन्दै गएको छ । यो अवस्थाले लगानीकर्ताको मनोबल झन्–झन् खस्किइरहेको छ ।
अनलाइनप्रतिको अविश्वास र दोश्रो बजारमा गरिएको लगानीको सुरक्षा तथा लगानीको गोपनीयता समेत संकटमा परेपछि बजार निरन्तर घटिरहेको छ ।
यही क्रममा बिहीबार समेत नेप्से परिसूचक घटेको छ । परिसूचक घटेर ११०० विन्दूको नजिक पुगेको बेला एभरेष्ट बैंकको संस्थापक सेयरको कारोबारलाई छाडेर हेर्दा २४ करोडको हाराहारीमा कारोबार भएको छ ।
यो दिन नेप्से परिसूचक ८.२१ अंकले घटेर १११२.८७ को विन्दूमा सीमित बन्न पुगेको हो । यो दिन बजारका सबै सूचकमा रातो पोतिएको छ ।
सेन्सेटिभ इण्डेक्स १.५२ अंक तथा फ्लट इण्डेक्स ०.५४ अंकले घटेका छन् भने सबै समूहको सूचकहरु पनि ओरालो लागेका छन् ।
यो दिन बैंकिङ समूह ५.६८ अंकले घटेको छ भने विकास बैंक समूह ४.५४ अंक, जीवन बिमा समूह २९.३५ अंक, निर्जीवन बिमा समूह ७०.१७ अंकले घटेका छन् ।
होटल समूहमा २७.०४ अंकको गिरावट आएको छ भने जलविद्युत समूहमा ८.७८ अंक, बित्त समूहमा २.१३ अंक, उत्पादनमूलकमा १८.७१ अंक, माइक्रोफाइनान्स समूहमा १५.३४ अंक र अन्य समूहमा ७.५१ अंकको गिरावट भएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६४ कम्पनीका ८० लाख ९५ हजार ७२ कित्ता सेयर २ अर्ब १६ करोड ६५ लाख ६ हजार ४ सय ८२ रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा बढी एभरेष्ट बैंकको १ अर्ब ९१ करोड बढीको सेयर किनबेच भएको छ ।
अपर तामाकोशीले १ करोड ५७ लाख बढीको कारोबार गरेको यो दिन प्रभू बैंकले १ करोड ४० लाख, एनसीसी बैंकले १ करोड १८ लाख, नागरिक लगानीकोषले १ करोड १४ लाख बढीको कारोबार गरेका छन् ।
मुक्तिनाथ विकास बैंकको १ करोड ८ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एनएमबी बैंकले ९४ लाख, इन्भेष्टमेन्ट बैंके ८६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ७२ लाख र एनआइसी एशियाले ६५ लाख बढीको कारोबार गरेका छन् ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन चौतारी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले धेरै कमाएका छन् । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा बढ्यो ।
नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य धेरै घटेको छ । यो कम्पनीको मूल्य ८.४२ प्रतिशतले घटेको हो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19