– अर्जुन तिमिल्सिना

काठमाण्डौ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले सबै लगानीकर्तालाई प्यानमा समावेश गर्नुपर्ने बताएका छन्।

आगामी बजेटमा ब्रोकरहरुका तर्फबाट सरकारलाई रायसुझाव पेस गर्दा अध्यक्ष मनौलीले सबै लगानीकर्तालाई प्यानमा समावेश गर्नुपर्ने सुझाव दिइएको बताएका छन्। ‘ हाल ५ लाख रुपैयाँभन्दा माथिको कारोबार लागि प्यान अनिवार्य गरिएको छ’, उनले भने, ‘अब नयाँ बजेटबाट सबै लगानीकर्तालाई प्यानमा समावेश गरिनुपर्छ।’

आफूहरुले बजेटमा मुख्यगरी २ वटा सुझाव दिएको पनि अध्यक्ष मैनालीले बताए। ‘पहिलो समग्र बजार विकास हुने गरी बजेट ल्याइनुपर्छ’, उनले भने, ‘त्यसका लागि नेप्सेको निजीकरणसँगै रणनीतिक साझेदार भित्र्याउनुपर्छ।’

त्यसैगरी लिस्टेड कम्पनी र रियल सेक्टरलाई पनि पुँजी बजारमा ल्याउनुपर्ने मैनालीको भनाइ छ। ‘यसरी लिस्टेड कम्पनीलाई पुँजी बजारमा भित्र्याउँदा बजारमा आपूर्ति बढ्छ तर आन्तरिक तथा बाह्य संस्थागत लगानीकर्ता भित्रा्याउन सक्छौँ’, उनले भने, ‘आन्तरिकमा म्युचुअल फन्डजस्ता कम्पनी हुन सक्छन् भने बाह्यमा एनआरएनको सहभागिता हुन सक्छ। यसरी संस्थागत लगानीकर्ता भित्र्याउँदा पुँजी बजारको विकास हुन्छ।’

डेरिभेटिभ प्रोडक्ट्सलाई पनि बढाउँदै लानुपर्ने तथा इन्ट्राडे कारोबारलाई अविलम्ब सुरु गर्नुपर्ने ब्रोकरहरुको माग छ। ‘किनकि यसले कारोबारलाई बढवा दिन्छ भने कारोबार बढेपछि नै संस्थागत लगानीकर्ता आकर्षित हुने हो’, मैनालीले भने। 

हाल लगानीकर्ताले तिर्दै आएको करको विषयमा पनि केही संशोधन गर्नुपर्ने भन्दै अध्यक्ष मैनालीले अल्पकालीन तथा दीर्घकालीन गरेर कर व्यवस्था गर्नुपर्नेमा जोड दिए। ‘अल्पकालीनभन्दा पनि दीर्घकालीन लगानीकर्तालाई केही करमा सहुलियत हुन आवश्यक छ’, उनले भने। 

मैनालीले हालको डब्ल्यूएसीसी गणनाविधि पनि अवैज्ञानिक रहेको बताए। ‘यो स्वचालित हुनुपर्छ’, उनले भने। 

यसैगरी मैनालीले ब्रोकरहरुले अहिले तिर्दै आएको कुल ३० प्रतिशत कर घटाएर २५ प्रतिशतमा झार्नुपर्ने बताएका छन्। ‘१५ प्रतिशत टीडीएसका रुपमा पहिले नै तिर्छौं’, उनले भने, ‘त्यसै कुल कर घटाएर २५ प्रतिशतमा ल्याउनु पर्छ ।’

यसका साथै सेलटमेन्ट फन्डलाई बढाउनका लागि सरकारको योगदानको अपेक्षा गरिएको पनि अध्यक्ष मैनालीले बताए। ‘एउटा छट्टै रियल स्टेट इन्भेस्टमेन्ट ट्रस्टको पनि आवश्यक भएको देखिन्छ’, उनले भने। 

सेयर बजार विकास र विस्तारका लागि ब्रोकरहरुको शाखा विस्तार गर्ने वा सबब्रोकर स्थापना गर्ने दुवै मोडेल हुन सक्ने मैनाली बताउँछन्। ‘तर दुर्गममा जानेको हकमा प्रोत्साहन पनि हुनुपर्छ।’, उनले भने। 

ब्रोकरले आउने साउन १ गतेबाट ल्याउने भने आफ्नै टीएमएसका विषयमा मैनालीले यसमा गर्नुपर्ने कामहरु भइरहेको बताए। ‘जति छिटो एपीआई पोलिसी नेप्सेबाट पास हुन्छ, त्यति नै छिटो टीएमएस ल्याउने प्रक्रिया अगाडि बढ्छ’, उनले भने।