काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाइने बताएकी छन्। 

मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवासम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले प्रदेशमा प्रभावकारी र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधिसँग आवश्यक सहकार्य गर्न आग्रह पनि गरिन्। यसका लागि आवश्यक योजना बनाउन र डिजिटल डिभाइडलाई न्यूनीकरण गर्नका लागि उनले निर्देशन दिइन्। सरकारले प्रत्येक प्रदेशका कम्तीमा २ जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने योजनाका साथ कार्य गरिरहेको र क्रमशः सबै जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाइने उनले बताइन्। 

गत शुक्रबार जनकपुरधाम र शनिबार सिमरामा अन्तर्क्रिया भएको थियो। 

उक्त अवसरमा मधेस प्रदेशमा नेपाल टेलिकमको सेवासम्बन्धी संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिहरुसँग विभिन्न विषयमा छलफल भएको थियो। 

मधेश प्रदेशकी पर्यटनमन्त्री सुनिता यादवले सरकारी निकायले नै सबै क्षेत्रमा सेवा पुर्याउनुपर्छ भन्ने मान्यता जनतामा रहेको र यसका लागि छिटोछरितो रुपमा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइन्। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं कम्पनी सञ्चालक समितिका निमित्त अध्यक्ष बाबुराम भण्डारीले नेपाल टेलिकमलाई कस्तो बनाउने र कता लैजाने भन्ने विषयमा महत्वपूर्ण सुझाव प्राप्त गरेको उल्लेख गर्दै सुझाव र निर्देशनका लागि आभार व्यक्त गरे। 

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवाको उपभोग गर्न पाउनु सबैको अधिकार भएको र यसका लागि समन्वयको भूमिकामा प्राधिकरण रहेको बताए। उनले मधेश प्रदेशका राजमार्गलगायतका स्थानमा टावरलगायतका संरचना निर्माणमा समन्वय गरिदिनका लागि जनप्रतिनिधिहरुको भूमिका हुने उल्लेख गरे। 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०–८१ मा मर्मतसम्भार कार्यलाई विशेष सेवाको रुपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रमहरु तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताए। मधेश प्रदेशका कुल ५५० भन्दा बढी स्थानबाट कम्पनीले जीएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र ३० भन्दा बढी स्थान (ओएलटी)बाट एफटीटीएच वितरण गरिरहेको जानकारी दिए। 

मधेश प्रदेशमा जनसंख्या धेरै भएको र यसको अनुपातमा कम्पनीका प्रयोगकर्ता समेत बढाउनका लागि आवश्यक सहकार्य गर्न उनले आग्रह गरे। 

नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय मधेश प्रदेशका निर्देशक अमुल प्रधानले कम्पनीले सो प्रदेशमा उपलब्ध गराइरहेको सेवा र आगामी योजनाका बारेमा जानकारी दिए। आगामी दिनमा ग्राहकको सबै गुनासो प्रदेशस्तरमै समाधान गर्ने लक्ष्यका साथ कार्य भइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा ग्राहक सेवा केन्द्रलाई चुस्तदुरुस्त बनाई अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। 

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले आम उपभोक्ताले प्रयोग गर्ने दूरसञ्चार सेवा गुणस्तरीय बनाउनु कम्पनीको दायित्व भएको र यसका लागि प्राधिकरणले नियामकको रुपमा सधैँ सहयोग गर्ने बताए। 

कार्यक्रममा कम्पनीले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुका बारेमा उप–प्रबन्धक नवल चौधरी र ब.ई. बन्टी श्रेष्ठ, कम्पनीका सेवाहरु विदेशमा समेत प्रयोग गर्न सकिने रोमिङ सेवाको वारेमा उपप्रबन्धक समिरबहादुर श्रेष्ठ र मधेश प्रदेशमा नेपाल टेलिकमको सेवाको अवस्थाबारेमा उपप्रबन्धक निरञ्जन घिमिरेले प्रस्तुतीकरणगरेका थिए। 

अन्तर्क्रियामा जनप्रतिनिधिहरुले नेपाल टेलिकमको सेवा वारेमा आफ्नो धारणा व्यक्त गर्नुका साथै यसलाई प्रभावकारी बनाउने वारेमा आफ्नो अनुभव प्रस्तुत गरे। उनीहरुले राखेका विभिन्न जिज्ञासाका बारेमा मन्त्री शर्माका साथै कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेल तथा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, वायरलेस सेवा निर्देशनालय निर्देशक मिनु प्रधानलगायतले स्पष्ट पारेका थिए। 

कार्यक्रममा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ र ज्वालाकुमारी साह, संघ र प्रदेशका सांसदहरु, स्थानीय निकायका प्रमुखहरु र अन्य क्षेत्रका व्यक्तित्वहरुको समेत सहभागिता थियो।