काठमाण्डौ । सभामुख कृष्णबहादुर महराले जीवनमै पहिलोपटक सेयरहरु जम्मा हुने डिम्याट खाता खोलेका छन् । 

‘जनताको जलविद्युत्’ कार्यक्रममा जोडिने उद्देश्यले महराले डिम्याट खाता खोलेका हुन् । सेयर जम्मा हुने यस्तो खाता उनले जीवनमै पहिलोपटक खोलेका हुन् । 

शुक्रबारदेखि बिक्री गर्न लागिएको रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको साधारण शेयर खरीदका लागि सभामुख महराले बिहीबार हितग्राही खाता खोलेका बताइएको छ । 

जनताको जलविद्युत् कार्यक्रम समन्वय समितिका सदस्य सचिव एवम् हाइड्रो इलेक्टक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार सभामुख महराले ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा हितग्राही(डिम्याट) खाता खोलेका छन् । 

सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । सो कार्यक्रम अन्तर्गतको पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बीको बिक्री गरिएको थियो । 

सोही क्रममा शुक्रबारदेखि रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयर बिक्री गरिने भएको छ । 

ती दुई आयोजनाको कूल रु एक अर्ब ५४ करोड बराबरको शेयर बिक्री गरिनेछ । 

ती दुई आयोजना चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरेका हुन् । 

ती दुवै आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा सञ्चय कोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेका छन् ।

कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र माथिल्लो साञ्जेनको ७७ प्रतिशत र साञ्जेनको ७० प्रतिशत भौतिक प्रगति भएको छ । सरकारले ती दुवै आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

दुवै आयोजनाको आइपीओ खरीदका लागि प्रतिकित्ता १०० रुपैयाँ मूल्य अहिले नै चुक्ता गर्नुपर्नेछ ।