काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पादन र डिजिटल अर्थतन्त्रका लागि पनि हो भन्ने आभास हुन थालेको बताएकी छन्।

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ को फायर साइड पावर संवादमा सञ्चारमन्त्री शर्माले अहिले नेपालमा सूचना प्रविधिको सोचाइमा परिवर्तन आएको बताएकी हुन्। ‘सुरुमा सूचना प्रविधिलाई मनोरञ्जनको साधनका रुपमा लिइन्थ्यो’, उनले भनिन्, ‘अहिले त्यो सोचाइ परिवर्तन भएको छ। सूचनाट प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पादन र डिजिटल अर्थतन्त्रका लागि पनि हो भन्ने छ।’

शर्माले सबै नागरिकसामु सूचना प्रविधिको पहुँच पुर्याउन सरकारले निरन्तर रुपमा काम गरिरहेको भन्दै त्यसका लागि आवश्यक नीति बनाउने काम भइरहेको बताइन्। सूचना प्रविधि क्षेत्र पुरानै नीतिले चलिरहेको उल्लेख गर्दै उनले पुराना नीतिलाई समयानुकुल बनाउने गरी मन्त्रालयले काम गरिरहेको बताइन्। 

मन्त्री शर्माले सूचना प्रविधिबाट हुन सक्ने दुरुप्रयोग रोक्न मन्त्रालय सचेत रहेको समेत बताइन्। ‘अबको १० वर्षमा सूचना प्रविधिमा उल्लेखनीय विकास हुनेछ’, उनले भनिन्।

समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्कलाई पूर्ण कार्यान्यन गर्न कठिन भएको शर्माले बताइन्। उनले भनिन्, ‘डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि अधिकारप्राप्त संस्थाको खाँचो छ। यसका लागि मन्त्रालयमा छलफल भइरहेको छ।’

सूचना प्रविधि सेवामा आईटी पढेकालाई आकर्षित गर्न काम गरिरहेको जानकारी दिँदै मन्त्री शर्माले सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्ने बताइन्। ‘हामी सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि छुट्टै स्टाफ कलेजको पनि व्यवस्था गर्दैछौँ’, उनले भनिन्।