काठमाण्डौ । मौद्रिक नीति समयमै सार्वजनिक गर्न ढिलासुस्ती गरिरहेको नेपाल राष्ट्रबैंकको कार्यशैलीप्रति रुष्ट लगानीकर्ताले रातो झण्डा देखाएका कारण सोमबार बजार दोहोरो अंकले खस्किएको छ । 

मौद्रिक नीतिको पर्खाईमा रहेका लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा रही सेयर खरीदबिक्रीमा उत्साहित नभएपछि कारोबार रकममा पनि अत्यासलाग्दो गिरावट आएको हो । 

साताको दोश्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २०.२६ अंकले घटेर १७०२.१७ अंकमा आइपुगेको छ । 

बजारमा उत्पादनमूलक समूहमा मात्र वृद्धि देखियो । यो समूहको परिसूचक २८.६१ अंकले उक्लियो भने बाँकी सबै समूहको सूचकमा रातो पोतियो । 

सबैभन्दा धेरै बिमा समूहको परिसूचक तेहेरो अंकले घट्यो । यो समूहको परिसूचकमा २१७.५२ अंकले गिरावट आयो । होटल समूह४९.४१ अंकले घट्यो भने अन्य समूह ३८.७६ अंकले ओर्लियो । जलविद्युत समूह ३२.४३, विकास बैंक समूह २५.७७, वाणिज्य बैंक ७.४२ र बित्त समूह ६.३८ अंकले घटे । 

सेन्सेटिभ र फ्लोट इण्डेक्समा पनि क्रमशः ४.५९ र १.११ अंकको गिरावट देखियो । 

सोमबार कारोबार रकममा पनि निकै ठूलो गिरावट आयो । १४५ कम्पनीका १८ लाख १४ हजार ७ सय २० कित्ता सेयर ९१ करोड ४२ लाख ४८ हजारमा किनबेच भयो । निकै दिनको अन्तरालमा कारोबार रकम पहिलोपटक सोमबार एक अर्ब भन्दा पनि कम भएको हो । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार सबैभन्दा धेरै लुम्बिनी जनरल इन्स्योरेन्सको ४ करोड ६४ लाखको सेयर किनबेच भयो । यसैगरी, सूर्य लाइफ इन्स्योरेन्सले ३ करोड १५ लाख, प्राइम लाइफ इन्स्योरेन्सले २ करोड ८७ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ६४ लाखको कारोबार गरे । यसैगरी, नेपाल ग्रामीण विकास बैंक लिमीटेडको २ करोड ५४ लाख, एभरेष्ट बैंक लिमीटेडको २ करोड २३ लाख, शिखर इन्स्योरेन्सको २ करोड १८ लाख, एनआइसी एशिया बैंकको २ करोड १६ लाखको सेयर खरिदबिक्री भयो । कृषि विकास बैंकले २ करोड १२ लाखको कारोबार गर्दा नेपाल बैंक लिमीटेडको कारोबार २ करोड ११ लाखमा सीमित बन्न पुग्यो । 

धेरै कमाउने कम्पनी
सोमबार सबैभन्दा धेरै ग्लोबल आइएमई समुन्नत स्कीमले १०.०३ प्रतिशतले सेयर मूल्य बढाएको छ भने नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल(तराईं) लिमीटेड, सिद्धार्थ बैंक लिमीटेड, माछापुच्छे बैंक लिमीटेड, जनता बैंक नेपाल लिमीटेड, मिथिला लघुवित्त विकास बैंक लिमीटेडले पनि राम्रो कमाए । यसैगरी, कसमस डेभलपमेन्ट बैंक लिमीटेड, सिन्धु विकास बैंक र मिसन डेभलपमेन्ट बैंक लिमीटेडका सेयरधनीले समेत आफ्नो सेयरको मूल्य बढाए । यी १० कम्पनीले न्यूनतम ३.९६ देखि १०.०३ प्रतिशतसम्मको दरले सेयर मूल्य बढाउने काम गरे । 

धेरै गुमाउने कम्पनी
सोमबार सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको प्रोमोटर सेयरधनीले गुमाउनु पर्यो । नागबेली लघुवित्त विकास बैंक लिमीटेड, सगरमाथा इन्स्योरेन्स, सिनर्जी फाइनान्स, रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर, सूर्य लाइफ इन्स्योरेन्स, नयाँ नेपाल लघुवित्त विकास बैंक, अल्पाइन डेभलेपमेन्ट बैंक पनि धेरै गुमाउनेको सूचिमा परे । छिमेकी लघुवित्त विकास बैंक लिमीटेड र नेपाल दूरसंचार कम्पनीका सेयरधनीले समेत गुमाउनुपर्यो ।