काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ। 

नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा चेम्बरले समयबद्ध तालिका बनाएर सरकारी सेवा प्रवाहलाई चुस्त एवं प्रभावकारी बनाउन सुझाव दिएको हो। अन्तरसरकारी निकायबीच प्रभावकारी समन्वयमार्फत जनतासँग प्रत्यक्ष जोडिएका सेवा क्षेत्रलाई परिणाममुखी बनाउन सुझाव दिइएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए। उनले भने, ‘समयबद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुन्छ। कर तिर्न जाँदासमेत घन्टौँ लाइन बस्नुपर्ने बाध्यतालाई तत्काल अन्य गर्ने ठोस नीतिगत व्यवस्थाको आवश्यकता छ।’

यस्तै संसदमा विचाराधीन अधिकांश आर्थिक विधेयकहरुलाई अगाडि बढाउन सहजीकरण गरिदिन पनि चेम्बरले मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराएको छ। चेम्बरले दिएको सुझावमा भनिएको छ, ‘निजी क्षेत्रसँग सम्बन्धित आर्थिक तथा अन्य विधेयकहरु समयमै पारित हुन नसकेकाले कतिपय समस्याहरु सम्बोधन हुन सकेका छैनन्, यसका लागि यसका लागि पनि सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछौँ।’

चेम्बरले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अन्तराष्ट्रिय लगानी भित्र्याउनुपर्नेमा समेत जोड दिएको छ। खासगरी ठूला जलविद्युत आयोजना, पूर्वाधार विकास, औद्योगिक तथा पर्यटन प्रवर्द्धनका लागि विदेशी लगानी सम्मेलन यथाशीघ्र आयोजना गर्न समेत चेम्बरले मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराएको छ। 

वैदेशिक लगानी सम्मेलनका क्रममा सूचना प्रविधिको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर योजना तर्जुमा गर्नसमेत आग्रह गरिएको अध्यक्ष मल्लले बताए। उनले भने, ‘विश्वमा सूचना प्रविधियुक्त सेवाको माग दिनप्रतिदिन वृद्धि भएकाले हाम्रा युवाहरुलाई स्वदेशमै अन्तर्राष्ट्रिय ठूला आईटी कम्पनीहरुको ब्याकअपका रुपमा काम गर्ने व्यवस्था जीटुजीमार्फत गरेर आईटी उद्योगहरुलाई विकास गरिनुपर्दछ।’

चेम्बर पदाधिकारीहरुसँगको भेटपछि मुख्यसचिव अर्यालले जनताको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए। गुणस्तरीय सेवा प्रवाह दिने विषयमा सरकार संवेदनशील रहेको भन्दै उनले यसका लागि दीर्घकालीन नीतिगत योजना बन्ने काम भइरहेको जानकारी दिए। 

जनताको सेवा प्रवाह सुधारको विषय सरकारको सफलतासँग पनि जोडिएको मुख्यसचिव अर्यालको भनाइ थियो। मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले अन्तराष्ट्रिय लगानीका लागि पनि पहल भइरहेको जानकारी दिए। 

भन्सार प्रशासनलाई चुस्त बनाएर राजश्व संकलनको लक्ष्य वृद्धि एवं पुँजीगत खर्च समयमै गर्ने गरी नीतिगत व्यवस्थाको तयारी भइरहेकोसमेत अर्यालले जानकारी दिए। 

चेम्बरले पुँजीगत खर्च वृद्धिका लागि पनि समयबद्ध तालिका बनाएर काम गर्नुपर्ने सुझाव पनि दिएको छ।