काठमाण्डौ । सीजी डेभलपर्सले समिट होटल प्रालिले विकास गरिरहेको परियोजनासँग सीजी डेभलपर्सको संलग्नतालाई जोडेर सार्वजनिक भएका समाचार एवं सामाजिक सञ्जालमार्फत गरिएका टिकाटिप्पणीहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

सीडी डेभलपर्सका अध्यक्ष राहुल चौधरीले आज प्रेस विज्ञप्ति जारी गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। ‘समिट होटलमा उक्त होटल सञ्चालनमा रहेको समयदेखि अहिले समिट रेसिडेन्सीको परियोजनासम्ममा सीजी डेभलपर्स जम्मा ३० प्रतिशतको साझेदार हो’, विज्ञप्तिमा प्रस्ट पारिएको छ, ‘बाँकी ७० प्रतिशत हिस्साको साझेदारहरुमा रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, सञ्चित श्रेष्ठ र उनीहरुका परिवार रहेका छन्।’

समिट होटलले अगाडि बढाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन एवं सञ्चालनको जिम्मेवारी सञ्चित श्रेष्ठले लिएको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ। ‘त्यसैले यस परियोजनाको निर्माणक्रममा सीजी डेभलपर्स व्यवस्थापन र सञ्चालनमा संलग्न नरहेको हामी जानकारी गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ।

सीजी डेभलपर्सले विकास गरेका परियोजनाहरु प्रतिष्ठित छन् र ती परियोजनाले नेपालको रियल स्टेट सेक्टरमा छुट्टै पहिचान स्थापित गरेको पनि विज्ञप्तिमा जनाइएको छ। ‘डेभलपर्सले काठमाण्डौ रेसिडेन्सी, सीजी हिल्स, माउन्ट भ्यू रेसिडेन्सी (फेज १, २ र ३) विकास गरेको हो’, विज्ञप्तिमा उल्लेख छ, ‘अहिले ललितपुरको भैँसेपाटीमा सीजी हिल्स प्रिमियम विकास गरिरहेको छ।’

यी परियोजनाको व्यावसायिक व्यवस्थापन र सञ्चालन सीजी डेभलपर्सले गर्दछ।

समिट होटलको परियोजनाका सम्बन्धमा यस परियोजनाका आधिकारिक प्रवक्ताका रुपमा सञ्चित श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी गराइसकेको पनि विज्ञपितमा जनाइएको छ। ‘यस सम्बन्धमा आवश्यक थप जानकारी उनीमार्फत नै आउनेछन् भन्नेमा पनि हामी सबैलाई विश्वस्त रहन आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।