काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २२.२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

संस्थाको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्ता पुँजी रु. २१ करोडको २१.०९ हुन आउने रु. ४ करोड ४३ लाखबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । त्यस्तै बोनस सेयरको कर प्रयोजनका लागि संस्थाले आफ्ना सेयरधनीहरुलाई १.११ प्रतिशतले हुन आउने रु. २३ लाख ३१ हजार ५७८.९५ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैठकले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने र त्यहाँबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै सेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ ।

संस्थाले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफा ४९.१५ प्रतिशतले बढोत्तरी गर्न सफल भएको छ।

हालै सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ५ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।