काठमाण्डौ । धेरै दिनदेखि ग्रहण लागेको बिमा समूह थोरै अंकले भए पनि सोमबार बढेको छ । 

बिमालाई गिरावट यात्रामा धकेली आफू अगाडि बढेको वाणिज्य बैंक समूहमा भने सामान्य ग्रहण देखिएको छ । तर, समग्र सेयर बजार परिसूचक २.८९ अंकले बढी नेप्से १६६७.९४ विन्दूमा पुुगेको छ भने वाणिज्य बैंकमा लागेको सामान्य ग्रहणको प्रभाव कारोबार रकममा परेको छ । निकै दिनपछि सोमबार कारोबार रकम १ अर्ब तल ओर्लिएको छ, अर्थात यो दिन ९४ करोड ६० लाखको मात्र सेयर किनबेच भयो । 

यो दिन बजारमा बित्त कम्पनी र अन्य समूहको बोलवाला चल्यो । बित्त समूह १३.९ अंक(१.७१ प्रतिशत) र अन्य समूह १३.८८ अंक(१.९४ प्रतिशत)ले बढे । यस्तै, होटल समूहमा १९.६५, विकास बैंक समूहमा ३.८, बिमा समूहमा ३.३९ अंकको वृद्धि देखियो । 

बैकिङ समूहमा ०.४६, जलविद्युत समूह १०.५३ र उत्पादनमूलक समूहमा ३.४४ अंकका ग्रहण लाग्यो । 

बैकिंग समूहमा झिनो गिरावट आए पनि क वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.०७ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.०३ अंकको वृद्धि देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार बजारमा १ सय ५९ कम्पनीका ३९ लाख ४२ हजार ८० कित्ता सेयर ९४ करोड ६० लाख, ८३ हजार ३ सय ३२ रुपैयाँमा किनबेच भयो । नागरिक लगानी कोषले सबैभन्दा बढी ६ करोड ११ लाख बढीको कारोबार गर्यो । यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ ले ४ करोड १६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड १३ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३ करोड ५४ लाख, नबील बैंकले ३ करोड १० लाख, प्राइम कमर्सियल बैंकले २ करोड ४८ लाख, प्रभूू बैंकले २ करोड ३३ लाख बढीको कारोबार गरे । यस्तै, नेशनल माइक्रो फाइनान्स बित्तीय संस्थाको २ करोड ३ लाख बढीको सेयर किनबेच भएको बजारमा एभरेष्ट बैंकले १ करोड ८५ लाख र एक्सेल डेभलमेन्ट बैंकले १ करोड ७१ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी लुम्बिनी विकास बैंकले कमायो । यो बैंकको सेयर मूल्य ६.०७ प्रतिशतले वृिद्ध भयो । यस्तै, एक्सल डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ५.११ प्रतिशतले बढ्यो । 

यो दिन कुुबेर मर्चेन्ट फाइनान्स र छ्याङ्दी हाइडोपावरको मूल्यमा ग्रहण लाग्यो । यी दुवै कम्पनीको मूल्य १० प्रतिशतले घट्यो । जेबिल्स फाइनान्सको सेयर मूल्य पनि साढे ८ प्रतिशतको हाराहारीमा घट्यो ।