काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीको झन्डै साढे ९ लाख कित्ता सेयर लिलामीमार्फत बिक्री गरिने भएको छ। 

समृद्धि फाइनान्सले गत फागुन ८ गतेदेखि २९ गतेसम्म रु. १०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। जसमा बिक्री नभएको ९ लाख ४० हजार ४६६ कित्ता सेयर लिलामीमार्फत बिक्री गरिने भएको हो। 

समृद्धि फाइनान्सले हकप्रद बुधबार बाँडफाँड गरिएको थियो। कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका आवेदकलाई १७ लाख ८९ हजार २३९ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको छ।

आफ्नो हकभन्दा बढी हकप्रद सेयरका लागि आवेदन गरी बाँडफाँडमा नपरेका सेयरधनीहरुको सेयरबापतको रकम भुक्तानी चैत २० गतेदेखि आवेदन फारममा उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत सीधै रकमान्तर गरिने कम्पनीले जनाएको छ। रकम जम्मा नभएमा बीओके क्यापिटल मार्केटमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ।