काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज असार १ गतेबाट झन्डै पौने ८ लाख कित्ता सेयर लिलामीमार्फत बिक्री राखेको छ। 

कम्पनीले गत फागुनमा जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक समूहको कुल ७ लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापक तथा सर्वसाधारण सेयरधनी वा अन्य व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

यो लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ र सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतम सेयरका लागि भने कुनै हद लाग्ने छैन। 

बोलपत्र काठमाण्डौको नक्सालस्थित बीओके क्यापिटल मार्केट, समृद्धि फइनान्सको केन्द्री कार्यालय हेटौँडा, शाखा कार्यालयहरु काठमाण्डौ, नारायणगढ, पोखरा र बुटवल तथा बैंक अफ काठमाण्डौका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढीमा पेस गर्न सकिनेछ।

बोलपत्र असार ९ गते बैंकिङ समयसम्म बुझाउन सकिने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ।