कयौं दिनदेखि नकाटेको दाह्री, आइरन नगरेको सर्ट र पेन्ट लगाएर उदासीन मुद्रामा आफूलाई भेट गर्न आएका इटहरीको विराटनगरलाइनस्थित कृस हार्डवेयरका संचालक मारवाडी थरका एक युवालाई सुनिलकुमार अग्रवालले निकै राम्रोसँग काउन्सिलिङ गरे । डिप्रेसनको शिकार भएका ती मारवाडी युवालाई सम्झाउँदै उनले भनेका थिए–‘एकपटक व्यापार चौपट भयो भन्दैमा आत्तिनु हुँदैन, निराश हुनुहुँदैन, डिप्रेसनमा आउनुहुन्न । घरपरिवार, साथीभाई र यो रमाइलो संसार सम्झिएर बाँच्नुपर्छ । आज डूबेकाहरु भोलि उक्सिन्छन, मेहेनत जारी राख्नुपर्छ ।’ कृस हार्डवेयरका संचालक ध्यान दिएर सुनिलको कुरा सुनिरहेका थिए । दुई अग्रवालबीचको साक्षी बनेर म सुनिलकै कार्यकक्षमा थिएँ । सुनिलले फेरि ती युवालाई अलिक कडा स्वरमा काउन्सिलिङ गर्दै भने–‘हेर यस्तो गति न मति भएर पनि हिँड्छन् ? आफूलाई फ्रेस बनाउनुपर्दैन ? खुरुक्क गएर दाह्री काटिहाल, डिप्रेसनको कुनै दबाई हुँदैन, तिमी आफैंले आफूलाई फ्रेस बनाउन सक्नुपर्छ । बरु डूल, घूम, मन रमाउने ठाउँमा जाऊ र पीर तथा चिन्ता नलेऊ । जीवन अमूल्य छ, सानातिना अप्ठ्याराबाट हार नखाऊ ।’ 

सुनिलको कुरा र काउन्सिलिङबाट निकै धेरै कुरा सम्झिएको महसुस गरेका कृस हार्डवेयरका संचालक त्यहाँबाट विदा भएर गएका थिए । ती युवा अहिले सुनिलकै काउन्सिलिङपछि राम्रैसँग फेरि व्यवसायमा फर्किएका छन् । आफ्ना पिताको निधनपछि चौपट बनेको हार्डवेयर व्यवसाय तिनले राम्रैसँग संचालन गरिरहेका गत साता इटहरी पुग्दा थाहा पाएको थिएँ । तर पत्याउनै नसकिने खबर आज सुन्नुपर्यो, डिप्रेसनको शिकार भएका एक मारवाडी युवालाई चित्त बुझाएर सुन्दर जीवन बाँच्न प्रेरित गर्ने, जीवनका समस्यासँग जुध्नुपर्छ भन्ने कला सिकाउने र जीवनलाई अमूल्य ठान्दै समस्यामा पर्दा निराश हुनुहुन्न, आफूलाई व्यवस्थापन गर्नुपर्छ भन्ने सूत्र सिकाउने तिनै मित्र, इटहरीका सफल युवा व्यवसायी सुनिलकुमार अग्रवालले आत्महत्याको बाटो रोजे भन्ने खबर सनसनी भइसक्दा पनि मलाई पत्याउन गाह्रो परिरहेको छ । आखिर अरुलाई त्यति धेरै सम्झाउने सुनिलले नाकाबन्दी र भूकम्पकै कारण आफ्नो व्यवसाय केही महिना हदैसम्म चौपट हुने बित्तिकै किन हरेस खाए होलान् ? सानातिना समस्याकै कारण नडगमगाउने सुनिलले किन यस्तो बाटो रोजे ? काठमाण्डौ खाल्डोमा बसेर मनभरि तर्कना खेलाइरहेको छु । मनभरि शालीन, मुसुक्क मुस्काउने, इटहरी क्षेत्रकै सहयोगी हातको रुपमा स्थापित सुनिलकै खाइलाग्दो, रहरलाग्दो र भरलाग्दो तस्विर नाचिरहेको छ । 

जन्म र मृत्यु शाश्वत सत्य हो । तर सुनिलजस्ता व्यक्तित्वको यस्तो निधन समाज र समग्र देशकै लागि अपुरणीय क्षति हो । आजको समाजमा देश, जनता र समाजका लागि केही गर्नुपर्छ, १० रुपैयाँ कमाउँदा कम्तीमा २ रुपैयाँ समाजका लागि खर्च गर्नुपर्छ भन्ने सुन्दर भावना बोक्ने सुनिल जस्ता युवाहरु पाउनै मुश्किल छ । यो अर्थमा समेत सुनिलले रोजेको बाटोले उनको परिवारलाई जति चोट पुर्याएको छ, त्यो भन्दा बढी इटहरीको समाजलाई स्तब्ध तुल्याएको छ । व्यापारी भनेको नाफाखोर मात्र हुन्छ, नाफा मात्र हेर्छ, व्यापारीको डायरीमा नाफा, नाफा अनि नाफा मात्र हुन्छ भन्ने आम बुझाईको ठीक प्रतिकूल पात्र थिए सुनिल । अझ व्यापारमा मात्र समर्पित हुने, सामाजिक गतिविधिमा खासै वास्ता नराख्ने, नाफा घाटाको क्यालकुलेटर मात्र दबाइराख्ने स्थानीय मारवाडी समुदायमध्ये सुनिल बिल्कुल फरक थिए, ताराहरुमाझको एक्लो वृहस्पति जस्तो । इटहरी क्षेत्रकै सयौ मारवाडी समुदायलाई नेतृत्व गर्ने भएकै कारण सुनिल इटहरी उद्योग वाणिज्य संघको असारमा हुन लागेको अधिवेशनमा अध्यक्षको आकांक्षी थिए । उनी मारवाडी समुदायबाट उवासंघको  अध्यक्ष भएर इतिहास समेत रच्ने योजनामा थिए । म इटहरीमा हुँदा उनलाई उद्योग वाणिज्य संघको अध्यक्षको रुपमा जित्ने वातावरण बनाउन मिडियाको तर्फबाट संयोजन गर्ने, रणनीति बनाएर बेलैदेखि प्रचारप्रसारमा हाबी हुने जस्ता सल्लाह पनि भएका थिए । उनी सोही सल्लाह र डिजाइन अनुसार उत्साहित भएर पछिल्लो समय उद्योगी व्यापारीहरुको समस्या, कार्यक्रम, भेलाहरुमा बाक्लै रुपमा उपस्थित समेत हुन थालेका थिए । तर नाकाबन्दीपछि एकाएक डिप्रेसनको शिकार भएका सुनिलको इटहरी उवासंघको अध्यक्षको रुपमा नेतृत्व गर्ने सपना समेत उनको आत्मासँगै उडेर गएको छ, मारवाडीको एउटा कुशल छोराले उवासंघलाई नेतृत्व हाँकेर रच्नै लागेको इतिहास समेत अधूरै बनेको छ । 

पछिल्लो समय सुनिल अग्रवालमा एउटा सफल व्यवसायी मात्र नभई सफल उद्योगी बन्ने सपना समेत थियो । त्यही सपना अन्तरगत भीम पौडेल, रोहित प्रसाईं, टंक दुलालसँग मिलेर उनले सुनसरीको तित्रीबनामा आर एण्ड बी जुस उद्योग स्थापना गरेका थिए । पछिल्लो समय उद्योगबाट प्रसार्इं र दुलालले हात झिकेका थिए भने पौडेलसँग मिले पनि ६० प्रतिशत भन्दा बढी लगानी अग्रवालले नै जुटाएका थिए । जुस उद्योगमै लगानी गर्न भनेर उनले घरखेत र आफ्नो व्यापारिक फर्म समेत धितोमा राखी करोडौं रुपैयाँ बैंकबाट लोन लिएका थिए । 

सिमेन्ट र रडको वार्षिक १० अर्ब भन्दा बढीको व्यापार गर्ने पूर्वाञ्चलकै टप व्यापारीमध्येका एक अग्रवालले कुनै बेला नाकाबन्दी होला र ५ महिनासम्म हात बाँधेर बस्नुपर्ला भन्ने कहिल्यै सोचेका थिएनन् । उनीमात्र होइन, नाकाबन्दीको कुरा कसैले सोचेको थिएन  । नाकाबन्दीका कारण उनले निकै ठूलो व्यापार घाटा सहनुपर्यो । तर ५ महिनाकै घाटा सहनै नसक्ने व्यक्ति चाहि थिएनन् सुनिल । यो अवधिमा उनले बैंकबाटै केही करोड ऋण निकालेर इटहरी २ मा निर्माणाधीन गरिमा नामको तारे होटलमा समेत लगानी गरेका थिए । करिब ५० करोडको लगानीमा बन्दै गरेको सो होटेलका चार संचालकमध्ये सुनिल पनि एक थिए । त्यस अलावा उनले थोरै भए पनि नमस्ते एफएममा समेत लगानी गरेका थिए । उनी संचार उद्यमीको रुपमा त स्थापित थिए नै एक सफल उद्योगीको रुपमा समेत स्थापित हुन चाहन्थे । उनले केही हाइडल प्रोजेक्टमा समेत लगानी गरेका थिए । 

तर अफसोंच उनको सपना पछिल्लो समय धूमिल बन्दै गएको थियो । २० करोड बढी लगानीको आर एण्ड बी जुस उद्योगले भनेजस्तो व्यापार गर्न सकेको थिएन । महिनैपिच्छे करोड करोडको घाटा सहनु परेको थियो । उनले जूस उद्योगले तत्काल घाटा व्यहोरे पनि आफू जसरी पनि यसलाई स्थापित गराइछाड्ने दृढता मसँगको भेटमा प्रकट गरेका थिए । उनले त्यसबेला भनेका थिए–‘यो वर्ष करिब १ करोड रुपैयाँ विज्ञापनमै खर्च गर्ने सोंच बनाएको छु । काठमाण्डौको राम्रो एड एजेन्सीलाई काम जिम्मा दिनुपर्यो, सोमनाथ जी तपाईंले मलाई सपोर्ट गर्नुपर्छ है ।’ तर सुनिलको यो सपना पनि अधूरै रह्यो, अनि एउटा सफल साथीलाई निश्चल मनले जानेको र बुझेको सहयोग गर्ने मेरो इच्छा समेत अधूरै रह्यो । उनको निधनपछि पो सुनियो, आर एण्ड बी जूस उद्योगमा पछिल्लो समय कर्मचारी कर्मचारीबीच नै पनि निकै ठूलो झगडा थियो रे । पछिल्लो समय व्यापार झनै चौपट बनेको थियो रे, उद्योगले लोडसेडिंगका कारण पूर्ण क्षमतामा उत्पादन गर्न सकेको थिएन, कर्मचारीलाई बैंकबाट ऋण भत्काउँदै तलब पाउनुपर्ने अवस्था थियो रे । 

उनको निधनपछि नै कसैले इटहरीबाट सुनायो, पछिल्लो समय गरिमा होटेलका लगानीकर्ताबीच पनि केही खटपट थियो । तर सुनिललाई डिप्रेसनको समस्या भएपछि त्यसलाई मिलाइएको थियो । डिप्रेसनकै कारण सुनिलले एकपटक निर्माणाधीन गरिमा होटेलको आठौ तला, अर्कोपटक घरैमाथिबाट समेत हामफाल्न खोजेका थिए । चिकित्सकहरुले परिवारलाई सुनिलप्रति कडा निगरानी राख्न भनेका थिए, परिवारले समेत सकेसम्म गरेकै थियो । तर दैवको कठोर लिला, जे नहुनुपर्ने थियो, त्यही भइदियो, अरुलाई सम्झाउने, जीवन कला सिकाउने सुनिलले जीवनको कलात्मक  पाटोलाई भूले र मृत्युको सहज बाटो रोजिदिए । 

सुनिलको अर्को सपना थियो राम्रो अंग्रेजी लेख्ने र बोल्न जान्ने हुने । उनले यसका लागि समेत इटहरीका एक शिक्षकलाई घरमै बोलाएर ट्यूसन लिइरहेका थिए । अंग्रेजीको विषयमा म इटहरी गएपिच्छे उनीसँग कुराकानी हुन्थ्यो । पछिल्लो समय उनको अंग्रेजीमा निकै धेरै सुधार भएको मैले महसुस गरेको थिएँ । अंग्रेजी भाषाको ज्ञान बटुल्ने र अंग्रेजीमै आर्थिक लेख लेखी पत्रिकामा प्रकाशन गर्ने उनको इच्छा समेत अधूरै रह्यो अब । 

सुनिलकुमार अग्रवाल, इटहरी क्षेत्रका पत्रकार तथा मिडियाहरुका लागि प्राण नै थिए । इटहरी क्षेत्रमा चलिरहेका एरिना टेलिभिजन, पूर्वी बजार साप्ताहिक, नमस्ते एफएम, इटहरी एफएम लगायतका मिडियाका लागि उनले विभिन्न सिमेन्ट तथा रड उद्योगका संचालकसँग सोझै कुरा गरेर विज्ञापन सम्झौता गराइदिने गरेका थिए । राम्रो बिक्रेता भएका कारण सुनिलको कुरा समेत काठमाण्डौ र वीरगञ्जका उद्योगीले खान्थे र उनको सिफारिस खेर जाँदैन थियो । यसको अर्थ, सुनिलकै कारण इटहरीका धेरै मिडिया बाँचेका थिए । पत्रकारहरुलाई गाह्रो साह्रो पर्दा सबैभन्दा अगाडि सहयोग गर्न सुनिल नै तम्सिन्थे, यसकारण समेत उनको निधनले सबैभन्दा बढी पत्रकारहरुलाई नै स्तब्ध तुल्याएको हुनुपर्दछ । 

अग्रवाल कलाकारका लागि समेत उत्तिकै प्यारा थिए । स्थानीय गायक गायिका, कलाकारको टोलीहरुलाई सहयोग गर्न, उनीहरुका हरेक कार्यक्रममा गइदिन, आर्थिक सहयोग गर्न तथा कतिपय कलाकारहरुको अल्बम निकाल्न समेत उनले खुलेरै सहयोग गर्ने गरेका थिए । काठमाण्डौबाट इटहरीमा हुने मेला महोत्सवमा कार्यक्रम लिएर जाने कोमल वली जस्ता चर्चित कलाकारहरुका लागि समेत उनी प्यारा र परिचित थिए । कलाकारलाई आतिथ्यता दिन, सांगीतिक कार्यक्रममा दिल खोलेरै सहयोग गर्दा उनी रमाएका देखिन्थे । इटहरी उद्योग वाणिज्य संघले हरेक दुई वर्षमा आयोजना गर्ने पूर्वाञ्चल महोत्सवका त उनी खम्बा नै थिए । अधिकांश ठूला प्रायोजक सुनिलले नै खोज्ने गरेका थिए । उनको निधनले कलाकार जति स्तब्ध भएका छन् त्यो भन्दा कम स्तब्ध छैन होला इटहरी उवासंघको टिम पनि । 

खेलाडी मात्र होइन, युवा राजनीतिकर्मीका लागि समेत उनी अभिभावक झै थिए र उनीहरुका लागि प्रिय थिए । उनी यतिसम्म उदार छाति भएका मारवाडीको छोरा थिए कि केही वर्षअघि एक युवा राजनीतिकर्मीको विवाह हुँदा त्यसको सबै खर्च सुनिल आफैले व्यहोरिदिएका थिए । साथीभाई भनेपछि हुरुक्कै हुने सुनिल अन्य सामाजिक सेवामा पनि उत्तिकै क्रियाशील थिए । जाडोमा काँपिरहेका मुसहरहरुलाई न्यानो कपडा वितरण गर्नेदेखि लिएर अनाथ आश्रम, वृद्धाआश्रमलाई मसलन्द सहयोग गर्नेसम्मको काममा उनी अगाडि हुन्थे । अन्य सामाजिक कामहरुमा समेत उनको उपस्थिति अनिवार्य जस्तै बनेको थियो । त्यति मात्र होइन, इटहरीका उद्योगी व्यवसायीलाई कुनै ठूलो समस्या पर्दा समाधानका लागि सम्बन्ध सेतूको रुपमा समेत उनले भूमिका निभाउने गरेका थिए । भनिन्छ पूर्वाञ्चल उद्योग वाणिज्य संघको अध्यक्षमा टंक दुलाललार्ई जिताउने महत्वपूर्ण भूमिका सुनिल अग्रवालकै थियो । दुलाल नजिकका साथी भएको नाताले समेत अग्रवालले उनको सारा चुनावी खर्च आफैंले व्यहोरिदिएको चर्चा समेत त्यसबेलै चलेको थियो । 

इटहरीको समाजका लागि मात्र होइन, सुनिल आफ्नो परिवारकै लागि समेत आशा र भरोसाको केन्द्र थिए । दाजु नरेन्द्र अग्रवाल भाई सुनिलजति सामाजिक सेवामा अगाडि बढ्न सकेका थिएनन् । नरेन्द्रको एकलौटी ध्यान व्यापारमा थियो । सुनिलका वृद्ध पिता कान्छो छोराको विषयमा सधैं चिन्तित देखिन्थे । चतराबाट सामान्य व्यापार सुरु गरी सुनिलकै प्रगतिका कारण इटहरीमा आएर स्थापित हुन सकेको अग्रवाल परिवारको आशाको केन्द्र भताभुंग भएको छ, सुनिलसँग जोडिएका सारा सपना उडेर गएका छन् । दैव निष्ठुर हुँदा अग्रवाल परिवारमा बज्रपात परेको छ । यत्ति हो, सुनिलजस्ता छोरा जन्माउने आमाबुबाको मन धैर्य बनोस् भन्ने कामना गरौं यो बेला । दैवको कठोर नियम सम्झिएर भाउजू, छोरा र छोरीले दह्रो मन बनाउन् र त्यसका लागि भगवानले शक्ति दिउन् भन्ने प्रार्थना गरौं  । फूलको थुंगाजस्तै सबैका लागि प्रिय थिए सुनिल । निष्ठुरी र निर्दयी हुरी आयो, फूलको थुंगा उडाएर गंगामा पुर्यायो, अनि गंगाको तीव्र छालमा त्यो फूलको थुंगारुपी सुनिल जी बहेर गए, भौतिक रुपमा नफर्किने गरी सधैं–सधैंका लागि, स्वर्णिम यादहरु चाहि बग्रेल्ती छाडेर । अलविदा प्रिय मित्र सुनिल ।