काठमाण्डौ । अर्थमन्त्री कृष्णबहादुुर महराको दवाबमा नेपाल धितोपत्र बोर्डले पूँजीबजारमा भित्रिएको भनिएको कालोधनको बिषयमा छानबिन गर्न गठित समिति गैरजिम्मेवारपूर्ण ढंगले खारेज गरेकोमा सर्वत्र विरोध भयो । पूँजीबजारमा सफेद धन र सामान्य लगानीकर्ताहरुको पक्षपोषण गर्न छाडेर धितोपत्र बोर्ड मन्त्रीदेखि कालोधन हुनेहरुसम्मको दवाबमा परेको बिषयमा तीव्र आलोचनासँगै राज्यका अन्य निकायलाई समेत दवाब पर्यो । 

बोर्र्ड आफ्नो जिम्मेवारीबाट पन्छिए पनि सम्पत्ति शुद्धीकरण विभाग लगायतका निकायले सेयर बजारमा ठूलो मात्रामा लगानी भएको भनिएको धनको स्रोत खोजीका लागि गोप्य ढंगले अनुसन्धान अगाडि बढाएपछि त्यसको असर पूँजीबजारमा निरन्तर देखा परिरहेको छ । कतिपय सही लगानीकर्तामा समेत सम्पत्ति शुद्धीकरणको भूत सवार भई उनीहरु मौन बसिदिंदा समग्र बजारमा दैनिकजसो पहिरो जान थालेको हो । यसैको फलस्वरुप आइतबारकै ट्रेण्डलाई पछ्याउँदै सोमबार पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखियो । 

सोमबार नेप्से परिसूचक ३९.१२ अंकले घटेर १६९४.८१ को स्तरमा झरेको छ । आइतबार झै सोमबार पनि सबै समूहको परिसूचकमा रातो पोतियो । सबैभन्दा धेरै बिमा समूह २३४.२८ अंकले तल झर्यो । अन्य बेला बजारलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेलिरहेको वाणिज्य बैंक समूह ४०.८८ अंकले ओर्लियो । 

विकास बैंक समूहमा ३७.९९ अंकको गिरावट देखिँदा बित्त समूह २.८ अंकले घट्यो । 

होटल समूह ७६.५९, जलविद्युत समूह ४९.६१ र अन्य समूह ९.५५ अंकले तल झरे । 

बोर्ड आफ्नो जिम्मेवारीबाट पन्छिए पनि सम्पत्ति शुद्धीकरण विभाग लगायतका निकायले सेयर बजारमा ठूलो मात्रामा लगानी भएको भनिएको धनको स्रोत खोजीका लागि गोप्य ढंगले अनुसन्धान अगाडि बढाएपछि त्यसको असर पूँजीबजारमा निरन्तर देखा परिरहेको छ । कतिपय सही लगानीकर्तामा समेत सम्पत्ति शुद्धीकरणको भूत सवार भई उनीहरु मौन बसिदिंदा समग्र बजारमा दैनिकजसो पहिरो जान थालेको हो ।

क वर्गका कम्पनीहरुको कारोबार नै खस्किएका कारण सेन्सेटिभ इण्डेक्स ८.३८ अंकले तल झर्यो । फ्लोट इण्डेक्स चाहि २.८४ अंकले ओर्लियो । 

सोमबार १ सय ४१ कम्पनीका  २४ लाख १७ हजार २ सय ५ कित्ता सेयर १ अर्ब १९ करोड २० लाखमा किनबेच भयो । 

बढी कारोबार गर्ने कम्पनी
सोमबार पनि नेपाल बंगलादेश बैंकको सेयर सबैभन्दा धेरै कारोबार भयो । यो कम्पनीको कुल ९ करोड ३४ लाखको सेयर किनबेच भयो । एभरेष्ट बैंकको ५ करोड ६२ लाख, नेपाल इन्भेष्टमेन्६ बैंकको ४ करोड ९४ लाख, नेपाल बैंक लिमीटेडको ४ करोड ५७ लाख, सिद्धार्थ बैंकको ३ करोड ६३ लाख, एनएमबी बैंकको ३ करोड २३ लाखको कारोबार भयो । यसैगरी, माछापुच्छे बैंकले ३ करोड ७ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ३ करोड ५ लाख, सिद्धार्थ डेभलपमेन्ट बैंक लिमीटेडले २ करोड ९२ लाख र कृषि विकास बैंकले २ करोड ७३ लाखको कारोबार गरे । 

धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा ८ स्थान वाणिज्य बैंक, १ स्थान विकास बैंक र एक स्थान बिमा कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउनेहरु
सोमबार सबैभन्दा धेरै हाम्रो विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाए । यी दुई विकास बैंकको सेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । 

समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बंैक, नागबेली लघुवित्त विकास बैंक, सिनर्जी फाइनान्स लगायतका लगानीकर्ता पनि मालामाल भए । 

सोमबार नेपाल ग्रामीण विकास बैंकका लगानीकर्ताले क्षति व्यहोर्नुपर्यो । यो बैंकको सेयर मूल्यमा ८.६५  प्रतिशतको गिरावट देखियो । रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा पनि ७.४८ प्रतिशतले घट्यो । राप्तिभेरी विकास बैंकका लगानीकर्ताको सम्पत्ति समेत ७ प्रतिशत भन्दा बढीले घट्यो ।