काठमाण्डौ । सम्पत्ति शुद्धिकरण निवारण ऐनमा भएको व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्डले पूँजीबजारमा भएको शंकास्पद लगानी खोजीलाई तीव्र पारेको छ ।
बोर्डले पूँजीबजारमा कालोधन लगानी भएको हुनसक्ने ठहरसहित सरकारको निर्देशनमा सम्पत्ति शुद्धिकरण निवारण ऐनमा भएको व्यवस्था बमोजिमको विवरण संकलन गर्ने कार्यलाई कडाईका साथ अगाडि बढाएको हो ।
यही योजनाअनुसार पूँजीबजारको नियामक बोर्डले ५० वटै सेयर ब्रोकरको काम गर्ने कम्पनीहरुलाई पत्र पठाउँदै आवश्यक विवरण अविलम्ब पठाउन निर्देशन दिएको हो । यसका लागि बोर्डले सबै ब्रोकर कम्पनीहरुलाई ७ दिनको समयसीमा दिएको छ ।
यसअघि बोर्डले २०७६ जेठ ३० गते समेत पत्र पठाएको थियो । सो क्रममा सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ को दफा ७ घ बमोजिम सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिमको पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गरी सो सम्बन्धी अभिलेख बोर्डलाई उपलब्ध गराउनुपर्ने व्यवस्था अनुरुप विवरण तथा कागजातहरु बोर्डमा पेश भनेको थियो । योसँगै सोही ऐनको दफा ७ त बमोजिम सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नीति तथा कार्यविधिको प्रतिलिपि समेत अविलम्ब पेश गर्न भनिएको थियो ।
तर, ब्रोकर कम्पनीहरुले ६ महिनासम्म पनि माग गरेअनुसारको अभिलेख तथा कागजात पेश नगरेको भन्दै आवश्यक(माग गरिएका) विवरण अनिवार्य रुपमा पेश गर्न भन्दै ५० वटै ब्रोकरहरुलाई पुनः पत्र पठाएको हो ।
करिब ६ महिनाअघि धितोपत्र बोर्डले पूँजीबजारमा सम्पत्ति शुद्धिकरण निवारण ऐन अनुसार लगानीका स्रोतहरु खोजीका लागि पत्र पठाएपछि यसले बजार घटाउने काम गरेको थियो । सम्पत्ति शुद्धिकरणको भूतबाट प्रभावित दोश्रो बजार केही समय उतारचढावमै अल्झिएको र बजार लयमा फर्किने संकेतसहित अगाडि बढिरहेकै अवस्थामा बोर्डले फेरि सम्पत्ति शुद्धिकरणको विषयमा तागेता गरेको हो ।
यो व्यवस्थाअनुसार विभिन्न ब्रोकर कम्पनीहरुको मध्यस्थतामा सेयर बजारमा भएको लगानीको विवरण पेश गर्नुपर्ने हुन्छ । शंकास्पद विवरणहरुमाथि सरकारका एजेन्सीहरुले आवश्यक छानबिन गर्नेछन् ।
यो व्यवस्था कार्यान्वयनमा आउँदा पारदर्शी लगानी गर्नेहरु लाभान्वित हुने र कालोधन बजारमा ल्याएर व्यवस्थापन गर्नेहरुको भागाभाग हुनसक्ने आँकलन हुने गरेको छ ।
तर, सम्पत्ति शुद्धिकरणको भूतले बजारमा भने नकारात्मक प्रभाव पर्ने गरेको छ । सबै ब्रोकरहरुलाई बोर्डले पत्र पठाएको सूचना चुहिएपछि यसैको प्रभाव आइतबारको बजारमा समेत देखिएको विश्लेषकहरु बताउँछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago