काठमाण्डौ । नेप्से प्रमुख चन्द्रसिंह साउदलाई हटाउने चलखेल सुरु भएको समाचारले अन्तिम अवस्थामा झिनो अंकले भए पनि सेयर बजार परिसूचक(नेप्से) बढेको छ । 

बजारमा पछिल्लो समय नेप्से प्रमुख साउदविरुद्ध नकारात्मक माहौल सिर्जना गरिएको छ । यहीकारण उनी हट्ने, उनलाई हटाउने वा उनीविरुद्धका कुनै पनि समाचार प्रकाशन भएपछि लगानीकर्ता उत्साहित हुने गर्छन् । बुधबारको बजारमा समेत अन्तिम अवस्थामा यस्तै समाचारले काम गरेको बताइएको छ । 

नेप्से परिसूचकमा झिनो प्रगति भएको यो दिन कारोबार रकममा भने निकै राम्रो बढोत्तरी भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम बढ्नु सुखद संकेत हो । तर, यस्तो प्रवृति केही दिनसम्म निरन्तर रहे मात्र यसलाई सुखद मान्न सकिन्छ । 

यो दिन नेप्से परिसूचक १ अंकले बढेर ११८२.७४ को विन्दूमा रहेको छ । यो दिन ५ वटा समूहको सूचकमा रातो पोतिएको छ भने बाँकी ५ समूहको सूचक हराभरा भएको छ । 

होटल समूह २२.९३ अंकले घटेको यो दिन जलविद्युत समूह ११.८७ अंक, निर्जीवन बिमा समूह ७.४ अंक, उत्पादनमूलक समूह ९.३४ अंक, र माइक्रोफाइनान्स समूह ०.८५ अंकले घटेको छ । 

यसैगरी, यो दिन बैंकिङ समूह १.२२ अंकले बढेको छ भने विकास बैंक समूहमा ८.१३ अंक, जीवन बिमा समूहमा ३०.६५ अंक, बित्त समूह ०.९५ अंक र अन्य समूह २.२७ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५१ कम्पनीका ८ लाख ५२ हजार ७ सय ६८ कित्ता सेयर २६ करोड ८८ लाख ८४ हजार २ सय ७२ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी नवील बैंकको ३ करोड २० लाख बढीको संस्थापक सेयर किनबेच भएको छ । 

यस्तै, नेपाल बैंकले ३ करोड १३ लाख, प्रभू बैंकले १ करोड ८३ लाख, एनएमबी बैंकले १ करोड ७८ लाख, ग्लोबल आइएमई बैंकले १ करोड ७५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ८३ लाख, एभरेष्ट बैंकले ८२ लाख, मेगा बैंकले ६७ लाख, सिभिल बैंकले ४९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सांग्रीला डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ४.२९ प्रतिशतले बढ्यो । 

विगत २ दिनजस्तै यो दिन पनि सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्यमा ७.४० प्रतिशतको गिरावट आयो ।