काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजारमा झिनो गिरावट आएको छ। 

बजार आज १.६४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६२८.३७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.१८ अंकले उकालो लागेर ४९५.६३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने ३ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल आजबाट बजार सम्हालिएको बताउँछन्। ‘बजार जति घट्नु थियो घट्यो, अब घट्ने ठाउँ छैन’, उनले भने, ‘त्यसैले अब आत्तिनुपर्ने अवस्था पनि छैन।’

बजार बढ्न बाँकी नै रहेको उल्लेख गर्दै ढकालले अहिले केही सेक्टरमात्रै चलेको बताउँछन्। ‘४–१२ को क्यापमा संशोधन हुने झिनो आशा थियो तर भएन’, उनले भने, ‘बजार यसलाई अब सहज रुपमा लिइसकेको छ।’

राम्रो लाभांश दिने कम्पनीहरुमा लगानी गर्दा फाइदै हुने ढकालको भनाइ छ। ‘अहिले तरलता र ब्याजदरको इस्यु छ’, उनले भने, ‘जुन विस्तार समाधान हुन्छ।’

केही समय बजार स्थिर रहेर विस्तारै लयमा फर्किने ढकालको तर्क छ।

सक्रिय लगानीकर्ता विष्णु भुसालका अनुसार दिनभरको कारोबार हेर्दा बिक्रीचाप घटेको र बजारले विस्तारै युटर्न लिने सम्भावना रहेको देखिन्छ। ‘बजारमा लगानीकर्ताको मनोबल त कमजोर नै देखिएको छ’, उनले भने, ‘त्यसैले एग्रिसिभ लगानी भएको छैन।’

अहिले बजारमा लगानीकर्ताहरुले प्रतिफलका आधारमा लगानी गरिरहेकोजस्तो देखिएको पनि भुसालले बताए। ‘बजार केही समय २६०० वरिपरि नै रहने देखिन्छ’, उनले भने, ‘मौद्रिक नीतिको प्रभाव पनि सकिएको र मुख्य पार्टीको महाधिवेशन पनि सकिँदै जाँदा बजार फेरि चार्म आउन सक्छ।’

कोभिडको नयाँ भेरिएन्टबाट उत्पन्न परिस्थितिले पनि बजार फेरि बढ्न सक्ने भुसालको तर्क छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ । यो दिन विकास बैंक र निर्जीवन बीमा समूह सर्वाधिक ०.८३ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.६९ प्रतिशतले बढ्दा जलविद्युत समूहमा ०.३८ प्रतिशत, वित्त समूहमा ०.३६ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.०७ प्रतिशतको बढोत्तरी आएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.८४ प्रतिशतले ओारालो लागेको छ। व्यापार समूह ०.८१ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.३७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१३ प्रतिशत, लघुवित्त समूहमा ०.२२ प्रतिशत, जीवन बीमा समूहमा ०.५ प्रतिशत र लगानी समूहमा ०.५२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९०.६९ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन आईसीएफसी फाइनान्सको सर्वाधिक १६ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। महालक्ष्मी विकास बैंकको १३ करोड ९९ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको १० करोड २३ लाख रुपैयाँ, नबिल बैंकको ८ करोड ६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ७ करोड ५९ लाख रुपैयाँ, एनआईसी एसियाको ७ करोड ५३ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ७ करोड ४९ लाख रुपैयाँ, अपी पावरको ६ करोड १५ लाख रुपैयाँ, अरुण काबेली पावरको ६ करोड ३ लाख रुपैयाँ र एचआईडीसीएलको ५ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन २ वटा कम्पनीका सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। सामलिङ्ग पावर र न्यादी हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो दिन इन्फिनिटी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।