काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा झिनो गिरावट आएको छ। 

बजार आज ०.०६ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २०४९.३८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स ०.५८ अंकले घटेर ३८२.१६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुनलामा सामान्य बढेर ३ अर्ब बढीकै भएको छ। 

बजार जानकार मुक्ति अर्याल बजारमा अहिले असार मसान्तकै प्रभाव देखिरहेको बताउँछन्। ‘यही कारणले यो साता बिक्री दबाब देखिएको छ’, उनले भने, ‘अर्को साताबाट बजार सम्हालिन सक्छ।’

घोराही सिमेन्टको आईपीओमा ब्लक भएको पैसा पनि बजारमा आउने सम्भावना रहेको अर्याल बताउँछन्। ‘यसले पनि बजारलाई सकारात्मक बनाउन टेवा पुग्न सक्छ’, उनले भने। 

अर्का बजार जानकार सरोज भट्टराई पनि आर्थिक वर्षको क्लोजिङकै कारण यो साता बजारमा बिक्री दबाब परेको बताउँछन्। ‘केही दिन बजार साइडवेज चलेको छ’, उनले भने, ‘बजार असार २५ सम्म साइडवेजमै चल्न सक्ने देखिन्छ।’

अब बजारको लय मौद्रिक नीतिले तय गर्ने पनि भट्टराईको भनाइ छ। ‘त्यसैले लगानीकर्ताहरु मौद्रिक नीतिको प्रतीक्षामा बसेको देखिन्छ’, उनले भने। 

यो समय भनेको अल्पकालीन र दीर्घकालीन दुवै थरिका लगानीकर्ताका लागि उपयुक्त रहेको भट्टराई बताउँछन्। ‘अहिले लगानी गर्नेले साउन–भदौसम्म राम्रै फाइदा निकाल्न सक्छन्’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.४२ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ०.९२ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.२२ प्रतिशत, जीवन बीमा समूहमा ०.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५९ प्रतिशत व्यापार समूहमा ०.०१ प्रतिशतको बढोत्तरी भएको छ। 

आज लगानी समूह सर्वाधिक ०.७८ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.३७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३० प्रतिशत, वित्त समूहमा ०.०८ प्रतिशत, लघुवित्त समूहमा ०.२० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३२ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.२१ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८० कम्पनीका ९७ लाख ५१ हजार ९८५ कित्ता सेयर ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार ३१५ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक १८ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। प्रभु बैंकको संस्थापक सेयरको १६ करोड ९७ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ३६ लाख रुपैयाँ, सिटी होटेलको १४ करोड ७३ लाख रुपैयाँ र सोल्टी होटेलको १० करोड ६९ लाख रुपैयाँ, नेपाल बैंकको ८ करोड १ लाख रुपैयाँ, अपी पावरको ७ करोड ५२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड १३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ३ लाख रुपैयाँ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज सिटी होटेल, रावा इनर्जी र अपर तामोशीका सेयरधनीहरु मालामाल भएका छन्। यी तीनै कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट छ। जोशी हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन मोदी इनर्जीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट छ।