– अर्जुन तिमिल्सिना
काठमाण्डौ। निरन्तर घटिरहेको नेपालको सेयर बजारमा आज एकएक चमक आएको छ। आजको बढाइ र दिनभरको कारोबारले सेयर बजारमा एक किसिमको स्थिरता पनि देखिएको छ।
केही बजार जानकार तथा विश्लेषकहरुले आजको बढाइबाट केही आशा गर्न सकिने बताएका छन्। केहीले भने आजको बढाइलाई यो पुसको महिना पनि भएकोले केही टाठाबाठाले ब्याज तिर्ने पैसा निकाल्ने रणनीतिका रुपमा लिएका छन्।
केही बजार जानकारले अर्थ मन्त्रालयबाट पुँजीगत खर्च बढाउन गरेको पहल र स्थानीय तहको ८० प्रतिशत रकम बैंकले निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न लगाउनु तथा आयात प्रतिस्थापनका लागि राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाले बजार सकारात्मक बनेको बताउँछन्। यी पहलबाट तरलता सहज हुँदै जाने र सेयर बजार पुनः लयमा फर्किने उनीहरुको भनाइ छ।
बजार जानकार सरोज भट्टराई मिडियाहरुमा आएका समाचारकै कारण बजार बढेको बताउँछन्। ‘समाचारकै प्रभाव हो’, उनले भने, ‘जहाँसम्म सरकारले पुस मसान्तसम्म ३० प्रतिशत पुँजीगत खर्च गर्ने भन्ने विषय छ, यो अलि विश्वासिलो देखिन्न। किनकि यत्तिका महिनासम्म गर्न नसकेको पुँजीगत खर्च एकै महिनामा गर्ने भन्ने विषय हस्यास्पद नै हो।’
सरकारले आयात रोक्दा देशमा महँगी बढ्ने भट्टराईको तर्क छ। ‘सरकाले खासगरी खर्च बढाउनतिर ध्यान दिनुपर्छ’, उनले भने, ‘आजको बढाइमा भोलुम नआएकोले ठूला लगानीकर्ता बिश्वस्त भएजस्तो देखिँदैन। आज पनि ठूलाभन्दा साना लगानीकर्ता हौसिएकाजस्तो देखिन्छ।’
स्थानीय निकायमा जाने रकमले सीडीमा गणना गर्ने विधिले जम्मा ५० अर्ब तरलता थपिने भन्ने रहेको भट्टराई बताउँछन्। ‘अहिलेको तरलता संकटमा यो धेरै ठूलो नहुन पनि सक्छ’, उनले भने, ‘सरकारले गरेका पछिल्ला गतिविधिले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको छ।’
अहिलेको समयमा लगानीकर्ताले ट्र्डिङभन्दा इन्भेस्टमेन्ट गर्नु उपयुक्त हुने भट्टराईको सुझाव छ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट पछिल्ला कदमहरुबाट सरकार पुँजीबजारप्रति सकारात्मक रहेको बुझिने बताउँछन्। ‘तरलता व्यवस्थापन गर्न सरकारले जुन उपायहरु अवलम्बन गरेको छ, त्यसले आमलगानीकर्तामा सकारात्मक सन्देश दिन खोजेकोजस्तो देखिन्छ’, उनले भने, ‘यही कारणले अब बजार धेरै नघट्ने सम्भावना देखियो।’
अहिलेको अवस्थामा आफ्नो स्वपुँजी लगाउनलाई डराउनु नपर्ने बिष्टको भनाइ छ। ‘किनकि अझै ठूलो बुल आउन बाँकी नै छ’, बिष्टले भने, ‘अब फागुन–चैतबाट फेरि बुल सुरु हुने देखिन्छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19