काठमाण्डौ । सरकारले लकडाउनको अवधि बैशाख ३ पछि पनि अझै बढ्नसक्ने थप संकेतहरु दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रको नाममा भएको पछिल्लो सम्बोधनमै पनि ‘अबको दुई साता नेपालका लागि चुनौतिपूर्ण हुने’ भन्दै बैशाख ३ सम्म जारी लकडाउन अझै बढ्ने संकेत गरेका थिए ।
उनले सम्बोधनमा उल्लेख गरेको ‘जोखिमपूर्ण २ हप्ताको अवधि’ बैशाख १० आसपास मात्रै सकिन्छ ।
यो संकेतलाई अझ मजबुत बनाउने काम कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिबाट बिहीबार भएको एउटा महत्वपूर्ण निर्णयले पनि गर्यो ।
समितिले शुक्रबार र शनिवार काठमाण्डौमा अड्किएका र घर जान इच्छुकहरुलाई घर जान दिने व्यवस्था गर्ने निर्णय गरेको हो । घर जान इच्छुकहरुले पैदल नै लामो दूरीको यात्रा तय गरिरहेका समाचार सार्वजनिक भएपछि र त्यस्ता व्यक्तिको उद्धारका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशका विभिन्न भागहरुमा प्रयास थालेपछि राजनीतिक नाफाघाटा हेरेर मात्रै यो निर्णय भएको होइन ।
समितिका एक सदस्यका अनुसार बिहीबारको बैठकमा लकडाउनको अवधि अझै बढाउनुपर्ने विषयमा लगभग सबै सहमत देखिए । लकडाउनको अवधि अझै बढ्ने हो भने काठमाण्डौ छाड्न इच्छुकहरुलाई घर जान दिनुपर्ने विषय उठ्यो र लकडाउन कति दिनसम्म लम्बिन्छ भन्ने कुरा भारतमा थपिने लकडाउनको अवधि, नेपालमा कोरोना संक्रमणमा विकसित हुनसक्ने घटनाक्रम लगायतमा निर्भर हुने भन्दै समितिले २ दिन भए पनि काठमाण्डौबाट जिल्ला जान दिने निर्णय गरेको हो ।
‘काठमाण्डौका अभावसँग पौठेजोरी खेल्दै लकडाउनकै कारण अड्किएकाहरुलाई सहजै घर जाने व्यवस्था सरकारले मिलाउनेछ ।’ एक मन्त्रीले भने ।
ती मन्त्रीका अनुसार बिहीबारको उच्चस्तरीय समितिको निर्णयको अर्थ हो–लकडाउन अझै लम्बिनेछ, काठमाण्डौमा बस्दा कठीन भइरहेको छ भने घर जान सक्नुहुन्छ ।
लामो लकडाउनमा समेत काठमाण्डौमै बसेर टिक्छू भन्नेहरु मात्र बसिरहेका छन् । न्यून आया भएका, दैनिक ज्यालादारी मजदूरहरु सरकारको लकडाउन छलेरै भए पनि पैदल नै जिल्ला जिल्ला हिँडिरहेका छन् ।
कति दिन बढ्ला लकडाउन ?
स्रोतहरुका अनुसार लकडाउनका अवधि कम्तीमा पनि २ सातासम्म बढ्नसक्ने संभावना देखिन्छ ।
‘बैशाख ३ गतेसम्म लम्ब्याइएको लकडाउन बैशाख १० गते मात्र नभई बैशाखभरि नै पनि कायम हुनसक्छ ।’ स्रोत भन्छ–‘खुल्ला सीमा रहेको भारत सरकारले गर्ने लकडाउन लम्ब्याउने निर्णयले समेत नेपालको निर्णय प्रभावित हुन्छ ।’
भारतले अप्रील १४ सम्म जारी गरेको २१ दिने लकडाउन अझै लम्ब्याउने प्रष्ट संकेत दिइसकेको छ । बुधबार त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक बोलाएर सबैको धारणा मागेका छन् र सबैले लकडाउनको अवधि अप्रीलभरि कायम गरिनुपर्ने सुझाव दिएका छन् । मोदीले यो विषयमा ११ अप्रीलमा सबै राज्यका मूख्यमन्त्रीसँग छलफल गर्दैछन् । तर, त्यहाँका राज्य सरकारहरुले पनि लकडाउनको अवधि कम्तीमा अप्रीलसम्म जारी राख्नुपर्ने सुझाव यसअघि नै दिइसकेका छन् । यसो हुँदा भारतले लकडाउनलाई अप्रील महिनाभरका लागि लम्ब्याउन सक्नेछ । त्यसो भयो भने नेपाल सरकारले पनि सोही अवधिसम्म लम्ब्याउने निर्णय गर्न सक्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago