काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले आगामी आर्थिक वर्षको बजेटमा निर्माणका लागि विभिन्न ९ बुँदे सुझाव दिएका छन्।

प्रतिनिधिसभामा मंगलबार भएको प्रि–बजेट छलफलमा महामन्त्री शर्माले मौद्रिक नीतिमार्फत बैंक र व्यवसायीबीचको ब्याजदरलाई लिएर उत्पन्न द्वन्द्व समाधान गर्न सरकारले बजेटमा उचित व्यवस्था ल्याउनुपर्नेलगायतका सुझाव दिएका हुन्। उनले आन्तरिक र बाह्य ऋणको अकारले डेड ट्रयापमा नपार्ने गरी मितव्ययी ढंगले बजेट निर्माण गर्न पनि सुझाव दिए। 

यस्ता छन् ९ बुँदे सुझाव–

१. मौद्रिक नीतिमार्फत बैंक र व्यवसायीबीचको ब्याजदरलाई लिएर उत्पन्न द्वन्द्व समाधान गर्न सरकारले बजेटमा उचित व्यवस्था ल्याउनुपर्छ। 

२. आन्तरिक र बाह्य ऋणको अकारले डेड ट्रयापमा नपार्ने गरी मितव्ययी ढंगले बजेट निर्माण गरौँ।

३. अनुत्पादिक र फजुल खर्च भएका क्षेत्रहरु पहिचान गरेर कटौती गरौँ। लहडका भरमा कुनै पनि परियोजना अगाडि नसारियोस्।

४. बजेटको आकार घटाउनेभन्दा पुँजीगत बजेट बढाउने कानुन, नीति र रणनीति तर्जुमा गरौँ।

५. व्यापार घाटा क्रमशः न्यून गर्दै जान विद्युत उत्पादन र उपभोग बढाउन र व्यापारको बृहत्तर योजना ल्यायौँ। 

६. खाद्यान्नमा आत्मनिर्भर हुने गरी संकल्प र कृषिमा युवापुस्तालाई प्रेरित गर्ने खाले योजना र कार्यक्रम बनाउनौँ।

७. बेरुजु संकलनमा कडाइ र भ्रष्टाचार नियन्त्रणमा कठोरता राखौँ।

८. निजी क्षेत्रको परामर्शमा खारेज सुधार वा नयाँ निर्माण गर्नुपर्ने करिब २ दर्जन ऐनहरुको ओम्निभस गर्ने प्याकेज ल्याउँऔँ। 

९. सार्वजनिक खर्च पुनरावलोकन आयोगनका प्रतिवेदन अध्ययन गरी उपाध्येयता विभाग र सार्वजनिक संस्थाहरु खारेज गरौँ।