काठमाण्डौ । सरकारले कञ्चनपुर घटनाबारे विभिन्न तहमा भारत सरकारको ध्यानाकर्षण गराएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमार्फत घटनाबारे ध्यानाकर्षण गराएका छन्। परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले शुक्रबारै भारतीय समकक्षी सुष्मा स्वराजलाई टेलिफोन गरेर दोषीमाथि कारबाहीको माग गरेका छन्। 

परराष्ट्र मन्त्रालयले शुक्रबारै भारतीय कार्यबाहक राजदूतलाई लिखित कूटनीतिक नोट हस्तान्तरण गरेको छ। सबै तहको कुराकानीमा भारतीय अधिकारीले मृतकको पोस्टमार्टम रिपोर्ट मागेका छन्। 

सरकारले संसद्मा घटनाबारे जानकारी दिएको छ भने मृतकलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ। परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई टेलिफोन गरेर गोली भारतीय प्रहरीले चलाएको विषयमा भारत सरकारका तर्फबाट अहिलेसम्म पनि धारणा नआएकोप्रति ध्यानाकर्षण गराएका छन्। 

‘घटनाको छानबिन गरी यसमा संलग्न दोषीमाथि कारबाही गर्नुस् र आइन्दा यस्ता घटना हुन नदिन सावधानी अपनाउनुस् भनेको छु,’ परराष्ट्रमन्त्री महतले भने, ‘विदेशमन्त्री स्वराजले गम्भीरता व्यक्त गर्नुभएको छ र छानबिनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको भन्नुभएको छ।’ 

भारतलाई औपचारिक कूटनीतिक नोट परराष्ट्रसचिव शंकरदास बैरागीले भारतीय कार्यबाहक राजदूत विनय कुमारलाई शुक्रबार बिहान परराष्ट्र मन्त्रालय सिंहदरबारमा बोलाएर सरकारका तर्फबाट कूटनीतिक नोट हस्तान्तरण गरेका छन्। 

परराष्ट्र मन्त्रालयका प्रेस तथा जनसम्पर्क संयोजक एकराज पाठकका अनुसार कूटनीतिक नोटमा घटनाबारे नेपाल सरकारले निन्दा गरेको र घटनाको तुरुन्त छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ। 

‘कूटनीतिक नोटमा उक्त सीमा क्षेत्रमा आइन्दा यस्ता कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन भारतीय पक्षलाई आग्रह पनि गरिएको छ,’ पाठकले भने। 

भारतीय दूतावासका अनुसार कार्यबाहक राजदूत विनय कुमारले सीमावर्ती लखिमपुर खेरी जिल्ला प्रशासनलाई घटनाबारे जाँचबुझका लागि भारत सरकारले निर्देशन दिएको जानकारी दिएका थिए। 

‘जाँचबुझ प्रक्रियालाई सहज बनाउन नेपालबाट मृतकको पोस्टमार्टम रिपोर्ट उपलब्ध गराउन भनिएको छ,’ दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘दुवैतर्फका जिल्ला प्रशासनबीच नियमित संवाद र सम्पर्क हुनुपर्ने र सीमा क्षेत्रको शान्ति–सुरक्षा सुनिश्चित हुनुपर्नेमा कार्यबाहक राजदूतले जोड दिनुभएको छ।’ 

‘साउथ ब्लक’मा ध्यानाकर्षण भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नयाँदिल्लीको साउथ ब्लकस्थित विदेश मन्त्रालयमा गएर घटनाबारे नेपालको ध्यानाकर्षणपत्र बुझाएका छन्। उनले नेपाल र भुटान हेर्ने सहसचिव सुधाकर दलेलालाई भेटेर घटनाबारे ध्यानाकर्षण गराएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। यो खबर आजको नयाँपत्रिकामा छापिएको छ । 

राजदूत उपाध्यायले यसबारे प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री डा. महतलाई टेलिफोनमा जानकारीसमेत गराएका छन्।  

दुई दिनको कूटनीतिक पहल
बिहीबार

-प्रधानमन्त्री प्रचण्डले अपराह्न ३ बजे काठमाडौंस्थित कार्यबाहक भारतीय राजदूत विनय कुमारलाई बोलाएर घटनाको निन्दा गरे, भारत सरकारको ध्यानाकर्षण गराए 

-साँझ भारतीय दूतावासद्वारा विज्ञप्तिमार्फत एसएसबीको बचाउ, गोली प्रहार नभएको दाबी 

-उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिद्वारा साँझ भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई टेलिफोन गरेर ध्यानाकर्षण

शुक्रबार 

-प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालको टेलिफोन, घटनाप्रति दुःख व्यक्त, पोस्टमार्टम रिपोर्ट माग 

-परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच टेलिफोन कुराकानी, नेपालको ध्यानाकर्षण, स्वराजद्वारा दुःख व्यक्त 

-परराष्ट्रसचिव शंकरदास बैरागीद्वारा कार्यबाहक भारतीय राजदूत विनय कुमारलाई मन्त्रालयमा बोलाएर घटनाबारे कूटनीतिक नोट हस्तान्तरण 

-भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायद्वारा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान हेर्ने सहसचिव सुधाकर दलेलालाई भेटेर घटनाबारे लिखित ध्यानाकर्षण