बुटवल । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले सरकारले नीति कार्यक्रम बनाउँदा लगानीमैत्री वातावरण निर्माणको विषयलाई महत्व दिएको बताउनुभयो । उहाँले विदेशी लगानीकर्तालाई लगानीको लागि विश्वासको वातावरण बनाउन ऐनकानूनमा सुधार गर्दै स्वदेशी लगानीकर्ता आकर्षित गर्ने खालका योजना बनाउन स्थानीय तहलाई आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय पूँजीलाई प्रोत्साहन र दलाल पूँजीलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर रहेको र बजेटसम्बन्धी सैद्धान्तिक पक्षमा छलफल गरेर खरीद ऐनलाई सरलीकरण गर्नेतर्फ ध्यान दिइएको बताउनुभयो । अध्यक्ष दाहालले प्रदेश नं– ५ मा पर्यटन विकासको ठूलो आधार रहेकाले पर्यटन पूर्वाधारको काममा ध्यान दिन सुझाव दिँदै भन्नुभयो–“गौतमबुद्धको जन्मभूमि भएका कारण यो क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना छ ।”

अध्यक्ष दाहालले नेपाली जनताले अपेक्षा गरे अनुसारका काम अझै हुन नसकेकाले हाम्रो सोच र शैलीमा परिवर्तन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । उहाँले हिजो जेलनेल भोगेका व्यक्ति आज सत्तामा पुग्दा जनताका अप्ठ्यारा विर्सने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । “२५० वर्ष लामो तानशाही र निरङ्कुताले जर्जर बनाएको समाजलाई डेढवर्षमै चमत्कार हुनुपर्छ भनेर सोच्ने मानसिकतालाई म केही भन्दिन, तर यतिका वर्षको फोहर सफा गर्न समय लाग्छ ।” उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले स्थानीय तहले इमान्दारीताका साथ काम नगरे सङ्घीयता ल्याउनेमाथि प्रहार हुने भएकाले यसप्रति सचेत हुन उहाँले आग्रह गर्नुभयो । “जनताप्रति जिम्मेवार र जवाफदेही भएर स्थानीय तह ठिक भन्ने सन्देश देशभर जानुपर्छ, अनिमात्रै मुलुकमा गणतन्त्र ल्याउन ज्यान गुमाउने शहिदहरुको सपना साकार हुन्छ ।” उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशमा लगानीको वातावरण अनुकूल बन्दै गएकाले ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभयो । ‘लगानीका लागि यो ठाउँ प्रतिफलयुक्त छ, ढुक्क भएर लगानी गर्नुस् ।’ उहाँले भन्नुभयो ।

प्रदेशको समृद्धिका लागि प्रदेश सरकार प्रयत्नशील रहेको बताउँदै उहाँले अन्य प्रदेशको तुलनामा यस प्रदेशले ७ दशमलब १ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नु राम्रो शुरुवात भएको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले तिलोत्तमा नगरपालिकाको लगानी सम्मेलन सफल बनाउन प्रदेशको दह्रोसाथ रहेको बताउनुभयो ।

अर्थमन्त्री डा युवराज खतिवडाले नगरको विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले नगरको आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य र परिपुरकको प्रक्रिया अगाडि बढाएर समृद्धिको यात्रा तय गर्न आग्रह गर्नुभयो । उहाँले स्थानीय तहमा भूउपयोग नीति बनाउनसमेत सुझाव दिनुभयो । सार्वजनिक यातायातको व्यवस्थाका लागि तिलोत्तमा नगरसँगै अन्य नगरलाई जोडेर सरकारले मेगा सिटीको अवधारणा अगाडि बढाएको भन्दै यो योजना पूरा गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल, प्रतिनिधिसभाका सदस्य तथा नेपाली काङ्ग्रेसका सचेतक बालकृष्ण खाँणलगायतले आआफ्नो धारणा राखेका थिए।