-रमेश लम्साल/हरि लामिछाने
काठमाडौँ। नेपाल स्टक एक्सचेन्जले पोर्टफोलियो म्यानेजरमार्फत सरकारी संस्थाहरुको पैसा शेयर बजारमा ल्याउन पहल थालेको छ। सरकारी स्वामित्वमा रहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको सैनिक कल्याणकारी कोष, नेपाल प्रहरीको कोष, सशस्त्र प्रहरी कोष, सामाजिक सुरक्षा कोषलगायतका कोषको रकम पूँजी बजारमा ल्याउन नेप्सेले पहल गरेको हो।
'सरकारका विभिन्न निकायहरुमा रहेको ठूलो रकम सोझै पूँजी बजारमा ल्याउन गाह्रो हुन्छ। विभिन्न क्षेत्रमा लगानी गरिरहेका निकायहरुलाई पोर्टफोलियो म्यानेजर राखेर पूँजी बजारमा पनि लगानी गर्न सकिन्छ है भनेर पहल गर्न खोजिएको हो' नेप्सेका प्रवक्ता पुराहरि पराजुलीले भने।
नेपाली सेनाले बैंक तथा वित्तीय संस्थानहरुमा ठूलो रकम राख्छ। सेनाले पूँजी बजारमा कसरी लगानी गर्न सकिन्छ भनेर नेप्सेसँग अनौपचारिक कुरा बुझ्न खोजेको थियो। नेप्सेले धितोपत्र वोर्डसँग स्वीकृति लिएका पोर्टफोलियो म्यानेजरमार्फत लगानी गर्न सकिन्छ भनेर सल्लाह दिएको थियो। सल्लाह दिएर पठाएपछि नेप्सेका अधिकारीहरुलाई लाग्यो- ठूलो कोष बोकेर बस्ने अन्य निकायहरुलाई पनि यो आइडिया शेयर गर्दा राम्रो हुन्छ। त्यही मेशोमा नेप्सेले पूँजी बजारमा पैसा ल्याउन अन्य निकायहरुसँग छलफल थालेको हो।
स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषका उच्च अधिकारीसँग छलफल गरिसकेको जानकारी दिए। कर्मचारी सञ्चय कोषसँग दुई खर्ब ५० अर्ब सञ्चित कोष रहेको छ। नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ४० अर्ब, नागरिक लगानी कोषसँग चालु आर्थिक वर्षको कात्तिकसम्म ९६ अर्ब ४३ करोड ८३ लाख तथा सामाजिक सुरक्षा कोषमा १४ अर्ब रकम रहेको छ।
'सबै पैसा शेयर बजारमा आउने होइन। निश्चित प्रतिशत शेयर बजारमा लगानी गर्दा हुन्छ भन्ने सल्लाह हाम्रो हो' पराजुलीले भने, 'यसबाट पूँजी बजारमा पनि स्थायित्व आउँछ।'
नेपाल प्रहरीको कल्याणकारी कोषमा दुई अर्ब १९ करोड तथा सशस्त्र प्रहरीको कल्याणकारी कोषमा एक अर्ब २७ करोड रहेको छ। प्रमुख कार्यकारी अधिकृत साउदले सेना र प्रहरीसँग छिट्टै पूँजी बजारमा लगानीका लागि छलफल गर्ने आन्तरिक योजनामा रहेको बताए।
“बजार विस्तारसँगै लगानीमा अभिवृद्धि हुने भएकाले स्टकले सरकारी कोषको रकमलाई परिचालन गर्ने नीतिअनुसार छलफल शुरु गरिएको हो। हामी छिट्टै त्यस्ता कोषको रकमलाई पूँजी बजार विस्तारमा परिचालन गर्न लागेका छौं” उनले भने।
नेपालको पूँजी बजार करिब १६ खर्बको रहेको छ। बजार विस्तार गरी लगानीका थप स्रोतको पहिचान, परिचालनका लागि सरकारी स्थिर कोषको पनि योगदान रहन सक्ने बुझाइमा स्टक रहेको छ।
५० करोडमाथि कारोबार गर्नेलाई शेयर बजारमा
स्टकले ५० करोडभन्दा माथि कारोबार गर्ने निजी क्षेत्रका संस्थालाई समेत साधारण शेयर जारी गर्ने वातावरण बनाउन लागिपरेको छ। सहज र स्वच्छ व्यावसायिक कारोबारका लागि पनि पछिल्लो दिनमा निजी क्षेत्रका व्यापारिक संस्थाले समेत साधारण शेयर जारी गर्ने तत्परता देखाएका छन्।
पछिल्लो दिनमा डिस होम नेपाल, शिवम् सिमेन्ट, अर्घाखाँची सिमेन्टलगायतका व्यापारिक संस्थाले पनि साधारण शेयर जारी गर्ने तयारी गरेका छन्।
वास्तविक क्षेत्रलाई पूँजीबजारमा ल्याइँदै
स्टकले अस्पताल, शैक्षिक संस्था, यातायात कम्पनी, व्यावसायिक संस्था, सेवा क्षेत्रलाई पनि पूँजी बजारमा ल्याउन पहल शुरु गरेको छ। यस्तै पछिल्ला दिनमा सिमेन्ट उद्योग, केबलकार, उद्योग तथा सेवा क्षेत्रमा लगानी बढेको छ।
लगानीको मात्रा बढ्दै गएका त्यस्ता वास्तविक क्षेत्रलाई पनि पूँजी बजारमा ल्याउन आफूहरुले पहल गरेको प्रमुख कार्यकारी अधिकृत साउदको भनाइ छ।
“५० करोडभन्दा बढीका कारोबार गर्ने निकाय ढिलो चाँडो पूँजी बजारमा आउँछन्। हामी सहजीकरण गरिरहेका छौँ। वास्तविक क्षेत्र छिट्टै शेयर बजारमा प्रवेश गर्छ भन्नेमा हामी विश्वस्त छौँ” उनले भने।
बजार विस्तारका लागि विविध स्रोतको परिचालन गर्नु आवश्यक भएको भन्दै स्टकले सानो लगानीले मात्रै आर्थिक समृद्धिको दिशा समात्न नसक्ने हुँदा थप क्षेत्रको खोजी गरिएको जनाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले पूँजी बजारमा सूचीकृत नभएका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई पब्लिक कम्पनीमा ल्याई नागरिकको पहुँचमा पुयाउने नीतिगत पहल शुरु गरेको छ।
पूँजी बजारमा त्यस्ता क्षेत्रको प्रवेशपछि राम्रो मुनाफा आर्जन गरेका निजी क्षेत्रबाट सञ्चालित सेवामूलक क्षेत्र तथा कम्पनीबाट नागरिकले समेत आर्थिक लाभ लिन सक्नेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago