काठमाण्डौ । ‘अर्थतन्त्रको ऐना’ मानिने सेयर बजारलाई कति संवेदनशील भएर सरकारले हेर्नुपर्छ र यसको विकास तथा संरक्षणका लागि समय समयमा सुधारका प्याकेजहरु कसरी ल्याउनुपर्छ भन्ने उदाहरण हेर्न धेरै टाढा पुग्नै पर्दैन । नजिकको छिमेकी भारतको मोदी सरकारले हालै लिएका बजार सुधारका नीति तथा लगानीकर्ताहरुको लगानी संरक्षणका लागि गरेको सहज व्यवस्थालाई हेरे काफी हुन्छ । 

भारतको सेयर बजारमा पछिल्लो समय मन्दीको यात्रा सुरु भएपछि सरकारले यसको सुधारका लागि कैयन प्याकेजहरुको घोषणा गर्यो ।

लगानीकर्ताको मनोबल उकास्नका लागि समेत मोदी सरकारले हरतरहले प्रयास गर्यो, फलस्वरुप त्यहाँको बजारले दिनहुँ छलाङ मार्दै नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ । बिहीबार पनि यस्तै भयो । 

छिमेकी भारतमा सेयर बजारबाट लगानीकर्ताले कुस्त कमाइरहँदा नेपाल सरकारको नजरमा भने सेयर बजार प्राथमिकतामा पर्न सकेको छैन । सेयर बजारको सुधार र लगानीकर्ताको लगानी संरक्षणका लागि नेपाल सरकार संवेदनशील नबन्दा नेपालका लगानीकर्ताहरु भने छिमेका उछाल आएको बजार हेर्दै दिनहुँ आफ्नो लगानी चाहि डूबिरहेकोमा चित्त दुखाउँदै बस्नु परेको छ । 

बिहीबार कारोबार समयमा बम्बई स्टक एक्सचेञ्जको प्रमुख इण्डेक्स सेन्सेक्सले नयाँ अलटाइम हाईलाई चुम्दै यसअघिका सबै रेकर्ड तोडेको छ ।

भारतीय समयअनुसार करिब ११.१५ बजे सेन्सेक्सले हालसम्मकै सर्वाधिक ४०, ३४४ को उच्चतम विन्दू चुमेको भारतीय मिडियाहरुले लेखेका छन् । 

छिमेकी भारतमा सेयर बजारबाट लगानीकर्ताले कुस्त कमाइरहँदा नेपाल सरकारको नजरमा भने सेयर बजार प्राथमिकतामा पर्न सकेको छैन । नेपालमा भने गैरआवासीय नेपालीलाई नै बजारमा भित्र्याउने योजना कागजको खोस्टोमा सीमित छ । 

पछिल्लो ४ कारोबारी सेसनमा सेन्सेक्सले १००० अंकको उछाल हासिल गरेको छ । 

ठीक १०० दिन पहिला अर्थात जून ४ मा सेन्सेक्स ४०,३१२ को उचाईमा सीमित थियो । त्यो त्यसबेलासम्मको सर्वाधिक उचाई थियो । तर, सो उचाईको रेकर्डलाई समेत तोड्दै सेन्सेक्सले बिहीबार नयाँ इतिहास बनाएको हो । 

पछिल्लो तीन महिनामा रिलायन्स, एशियन पेन्ट्स, हिन्दूस्तान युनिलिभर जस्ता कम्पनीका सेयरहरुले लगानीकर्तालाई बम्पर रिटर्न दिएका छन् । 

गत जुलाई ५ मा बजेट प्रस्तुत गर्दै त्यहाँका वित्तमन्त्री निर्मला सितारमणले सुपर रिच ट्याक्स बढाउने घोषणा गरेकी थिइन् । यो घोषणापछि विदेशी लगानीकर्ताले बजारबाट धमाधम पैसा निकाल्न थालेका थिए । तर, सेयर बजारको गिर्दो अवस्थालाई मध्यनजर गर्दै सरकारले तत्कालै यो आत्माघाती व्यवस्था हटायो । योसँगै कर्पोरेट ट्याक्समा पनि भारि कटौतिको घोषणा भयो । यसका कारण लगानीकर्ताहरु उत्साही भए र बजारबाट भागेकाहरु समेत फर्किदै बजारमै लगानी गर्न हौसिए ।

विदेशी लगानीकर्ताहरुलाई लगानीका लागि खुकुलो कानूनी व्यवस्था र शर्तहरुका कारण भागिसकेका लगानीकर्ताहरु पनि अहिले जमेरै भारतको सेयर बजारमा लगानी गरिरहेका मिडिया रिपोर्टहरुमा जनाइएको छ । बुधबार मात्रै विदेशका संस्थागत लगानीकर्ताहरुले भारतको सेयर बजारमा ७१९२ करोड भारु लगानी गरेका छन् । जबकि घरेलू संस्थागत लगानीकर्ताले भने यो दिन १८५ करोड भारु बराबरको मात्र सेयर किने । यसबाट सेयर बजारमा विदेशी लगानीकर्तालाई भित्र्याउँदा यसले बजारलाई कुन गतिमा कुदाउँछ भन्ने पनि देखिन्छ । 

विदेशी लगानीकर्ताहरुकै दमदार भूमिकाका कारण भारतको सेयर बजार दिनहुँ चम्किरहे पनि नेपालमा भने गैरआवासीय नेपालीलाई नै बजारमा भित्र्याउने योजना कागजको खोस्टोमा सीमित छ । 

अमेरिकी फेडरल रिजर्बले लगातार तेश्रोपटक ब्याजदर घटाएको छ, यसले समेत भारतको सेयरमा बजारमा सकारात्मक भूमिका खेलेको विश्लेषण गरिएको छ ।