काठमाण्डौ । सरकारी सेवामा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुको तलब नकाटिने भएको छ । 

मन्त्रीपरिषदको चैत ११ गतेको बसेको बैठकले सरकारी सेवामा रहेका विभिन्न तहका कर्मचारीहरुले ३ दिनदेखि ७ दिनसम्मको तलब कट्टी गरी कोरोना रोकथाम तथा नियन्त्रणका लाथि स्थापित कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेको थियो । 

यो निर्णय स्वास्थ्य सेवामा आबद्ध चिकित्सक र स्वास्थ्यकर्मीहरुले मान्नु नपर्ने र उनीहरुको तलबबाट कुने पनि पैसा नकाटिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

'मन्त्रीपरिषदबाट निर्णय भए पनि स्वास्थ्य मन्त्रालयले कुनै पनि चिकित्सक र स्वास्थ्यकर्मीलाई तलब कट्टी हुने निर्देशन जारी गरेको छैन ।' उनले थपे-' कसैको तलब कट्टी हुँदै, तपाईहरु उच्च मनोबलका साथ काम गर्नुहोला ।' 

सरकारले पुनः एकपटक सेवा बाहिर रहेका र सेवा निवृत्त भइसकेका स्वास्थ्यकर्मी र चिकित्सकलाई पनि स्वेच्छिक रुपमा कोभिड १९ भाइरस संक्रमणको विरुद्धको लडाईमा सरिक हुन आह्वान गरेको छ । 

स्वास्थ्य मन्त्रालयले यसअघि नै सरकारी छात्रवृतिमा पढिरहेका स्वास्थ्यसँग सम्बन्धित विद्यार्थीहरुलाई समेत यो अभियानमा परिचालन गर्ने निर्णय गरिसकेको थियो । 

यसैबीच, स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. देवकोटाले विभिन्न अस्पतालहरुले सिरियस बिरामीहरुलाई समेत नलिएका, बिरामीको उपचार नपाएर मृत्यु भएकाजस्ता घटना बाहिर आएका भन्दै यस्तो द्विविधा मेटाउने गरी विभिन्न अस्पतालहरुलाई प्रष्ट खाकासहितको परिपत्र जारी गर्न लागिएको बताएका छन् । त्यसपछि ती अस्पतालहरुले सोही मापदण्डका आधारमा कोरोना भाइरस बाहेकका बिरामीहरुको समेत उपचार गर्नुपर्ने हुन्छ ।