काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदमा पुनः निर्वाचन गर्नुपर्ने भएको छ । 

यो पदमा उठेका तीनमध्ये कुनै पनि उम्मेद्वारले कुल खसेको मतको ५० प्रतिशत ल्याउन नसकेपछि विधानबमोजिम पुनः निर्वाचन हुने भएको हो । 

एफएनसीसीआईको विधानमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि कुल खसेको मतभारको ५० प्रतिशत कटाउनुपर्ने व्यवस्था छ । वरिष्ठ उपाध्यक्ष पदमा उठेका उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईमध्ये कसैले पनि विधानले तोकेअनुसारको मतभार कटाउन नसकेपछि पुनः निर्वाचन गर्नुपर्ने अवस्था बनेको हो । 

महासंघले स्थापना गरेको निर्वाचन समितिकाअनुसार आजै दिउँसो बजेदेखि वरिष्ठ उपाध्यक्षका लागि पुनः मतदान गर्ने कार्यक्रम छ । 

एशोसिएट, जिल्ला नगर र वस्तुगत समूहबाट प्राप्त मतभारका आधारमा वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच दोश्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ । अञ्जनले ३८ प्रतिशत र उमेशलालले ३१.५१ प्रतिशत मत पाएका छन् । 

एशोसिएटको मतगणनामा अग्रस्थानमा रहेका रामचन्द्र संघाई जिल्लानगर र वस्तुगततर्फ पछाडि परेसँगै ३०.४८ प्रतिशत मतभार मात्र पाए । योसँगै उनी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । 

अब संघाई समूहले उमेशलाल र अञ्जनमध्ये जसलाई समर्थन गर्छ, उसैले वरिष्ठ उपाध्यक्षमा जित हासिल गर्नेछ ।