काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले हाल कार्यान्वयनमा रहेको सर्किट ब्रेकरको नियमलाई संसोधन गर्ने भएको छ । 

प्रिओपन सेसनमा रहेको व्यवस्थाका कारण समग्र सर्किट ब्रेकर प्रणाली नै अव्यवहारिक बनेको व्यापक गुनासो बढेपछि नेप्सेले आन्तरिक रुपमा एक अध्ययन कमिटी बनाई गर्न सकिने व्यवहारिक परिवर्तनको तयारी थालेको हो । 

अध्ययन समितिले आफ्नो प्रतिवेदन तयार गरिसकेको छ । सो प्रतिवेदनमाथि एक चरणको छलफल भइसकेको छ र अर्को साता सोही प्रतिवेदनमा आधारित रहेर सर्किट ब्रेकर सम्बन्धी हाल कायम व्यवस्थामा परिवर्तन गरिने नेप्सेस्थित स्रोतले जनाएको छ । 

हाल विहान १०ः३० बजेदेखि १०ः४५ बजेबीचमा कुनै एक कम्पनीको शेयर मूल्य पाँच प्रतिशतसम्म तलमाथि गरेर किनबेच गर्न सकिने ब्यवस्था रहेको छ । कुनै कम्पनीको शेयर मूल्य पाँच प्रतिशितले बढाएर किनबेच गर्दा नियमित कारोबारका लागि बजार खुल्दा चार प्रतिशतको सर्किट लागेर बजार प्रभावित हुने गरेको छ । यो घटना पछिल्ला दिनहरुमा बढ्न थालेपछि यसमा नेप्से समेत गम्भीर बनेको हो । 

प्रिओपन सेसनमा ५ प्रतिशत मूल्य घटाएर किन्दा नियमित कारोबार सेसनमा बिक्री गर्ने आदेश नै राख्न नमिल्ने वा बिक्रेता नै नआउने अवस्था समेत बनेको भन्दै लगानीकर्ताबाट व्यापक गुनासो आइरहेको छ । यसलाई सम्बोधन गर्न पनि नेप्सेले सर्किट ब्रेकरको हालको व्यवस्थामा परिवर्तन गर्न खोजेको हो । 

हाल सेयर बजारमा नियमित कारोबार सुरु भएको पहिलो घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशत घटबढ भएमा २० मिनेटका लागि कारोबार स्थगित हुने व्यवस्था छ । त्यसपछि खुल्ने बजारमा दोश्रो घण्टाभित्र ५ प्रतिशतले नेप्से घटबढ भएमा दोश्रो सर्किट लागी ४० मिनेट कारोबार स्थगित गर्ने गरिन्छ ।

त्यसपछि सुचारु हुने बजार परिसूचक ६ प्रतिशत घटबढ भएमा सो दिनका बाँकी अवधिको सबै कारोबार स्थगन गर्ने व्यवस्था छ । प्रिओपन सेसनका कारण यो व्यवस्था चाँडो प्रभावित भई बजारमा चाँडो चाँडो सर्किट लगाउनुपर्ने अवस्था बनेपछि यसमा रिभ्यू गर्न खोजिएको हो । 

नेप्सेको अध्ययन समितिले २ खालको सर्किट ब्रेकरको विकल्प समेत सुझाएको बताइएको छ । 

पहिलो विकल्प–हाल कायम ४, ५ र ६ प्रतिशतको सीमालाई केही बढाउने । पहिलो सर्किट ब्रेकर नेप्से परिसूचक ६ प्रतिशत घटबढ भएपछि मात्र लगाउने । दोश्रो सर्किट ब्रेकर ८ प्रतिशतले घटबढ भएपछि लगाउने र तेश्रो सर्किट ब्रेकर १० प्रतिशत घटबढ भएपछि लगाउने । तर, बजार बढ्दा ६, ८ र १० प्रतिशतमा सर्किट लगाउन सकिने विकल्पले धेरै प्रभाव नपारे पनि घट्दा चाहि लगानीकर्ताको सम्पत्तिमा कुन स्तरमा प्रभाव पार्नसक्छ भन्ने विषयमा मिहीन अध्ययन भइरहेको छ । ‘यसैको सेरोफेरो रहेर सर्किट ब्रेकरको नयाँ व्यवस्था आउनेछ ।’ स्रोतले भन्यो । 

तर, नेप्सेले छलफलको क्रममा ल्याएको अर्को विकल्प भनेको कतिपय देशमा रहेको प्रिओपन सेसनमा कायम भएको कुनै पनि कम्पनीको मूल्यलाई एलटिपी(अन्तिम कारोबार मूल्य) मानेर गणना गर्ने र बजार सुचारु भएपछि सोही मूल्यका आधारमा हाल कायम सर्किट ब्रेकरको नियम नै लगाउने । यो व्यवस्था लागू भएमा प्रिओपन सेसनमा भएको मूल्य घटबढले अहिलेको सर्किट ब्रेकरको नियम प्रभावित हुँदैन । किनभने प्रिओपन सेसनको कारोबारबाट तय भएको मूल्यलाई अन्तिम(अघिल्लो दिनको झै) कारोबार मूल्य मानेर नियमित बजार संचालन गरिनेछ । 

‘हामी आइतबार/सोमबारतिर यो विषयमा निर्णय लिन्छौ होला ।’ नेप्सेका एक अधिकारीले भने–‘सर्किट ब्रेकर सम्बन्धी नियमलाई व्यवहारिक बनाउन खोजेका हौ ।’