काठमाण्डौ । सेयर बजारको गतिलाई काबुमा राख्न हाल कार्यान्वयनमा रहेको सर्किट ब्रेकरको व्यवस्था परिमार्जन लगायतका विषयमा निर्णय गर्न बसेको नेप्से संचालक समितिको बैठक सकिएको छ । 

बैठकले सर्किट ब्रेकरको हालको व्यवस्था परिवर्तन गर्नुपर्ने अध्ययन समितिको प्रतिवेदनमा सामान्य मात्र छलफल गरेको, तर आजै सो विषयमा निर्णय भने नभएको बताइएको छ । 

छलफलमा सहभागी एक संचालकका अनुसार आजको बैठकका अजेण्डाहरु धेरै रहेका कारण अन्य विषयमा छलफल गर्दा गर्दै सर्किट ब्रेकरको विषय ठोस निर्णय हुन सकेन । आजको बैठकमा सर्किट ब्रेकरको हालको व्यवस्था परिवर्तनका लागि अध्ययन समितिले गरेको सिफारिस लगायतको विषयले प्रवेश मात्र पायो । ती संचालकले बिजशालासँग भने ः अर्को बैठकबाट सो विषयलाई टुंगो लगाउने भनिएको छ । 

नेप्सेको अब हुने अर्को नियमित बैठकबाट सर्किट ब्रेकर सम्बन्धी हालको व्यवस्था परिवर्तनको आधिकारिक निर्णय लिने ती संचालकले बताए । 

अहिलेको अवस्थामा सर्किट ब्रेकरको अहिलेको व्यवस्थामा परिमार्जन गर्नुपर्नेमा नेप्से बोर्ड समेत सकारात्मक रहेको ती संचालकले जानकारी दिए । 

नेप्सेले गठन गरेको अध्ययन समितिले हालको सर्किट ब्रेकरको व्यवस्थालाई परिवर्तन गरी ४, ६ र ८ प्रतिशत कायम गर्नुपर्ने सिफारिस गरेको छ । हाल बजार खुलेको एकघण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटबढ भएमा सर्किट लगाई २० मिनेटका लागि कारोबार स्थगित गर्ने गरिएको छ । यस्तै, त्यसपछि खुलेको बजार २ घण्टाभित्र ५ प्रतिशतले बढेमा ४० मिनेटका लागि कारोबार स्थगन गर्ने गरिएको छ । त्यसपछि खुलेको बजार ६ प्रतिशतले घटेमा सो दिनका लागि सबै कारोबार स्थगित गर्ने गरिएको छ । यसरी हाल कार्यान्वयनमा रहेको ४, ५ र ६ प्रतिशतको नियमलाई ४, ६  र ८ प्रतिशत बनाउनुपर्ने सिफारिस भएको हो । 

यस्तै, सो अध्ययन समितिले प्रिओपन सेसनमा कायम भएको मूल्यलाई एलटिपी(अन्तिम कारोबार मूल्य) मानी हालकै सर्किट ब्रेकरको व्यवस्थालाई यथावत राख्न सकिने अर्को विकल्प पनि सुझाएको छ । तर, नेप्सेको उच्च व्यवस्थापन र केही संचालक भने ४, ६ र ८ प्रतिशतको सर्किट ब्रेकरको विकल्पमा बढी कन्भिन्स छन् ।