काठमाण्डौ । लगातार बढिरहेको बजारमा लगानीकर्ताले प्रफिट बुकको दौडधुप गर्दा साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा सामान्य अंकको करेक्सन भएको छ।

नेप्से परिसूचकमा सामान्य करेक्सन भए पनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। नेप्सेमा सामान्य गिरावट आउँदा कारोबार रकमतर्फ भने उछालको ट्रेन्ड देखिनुले बजारमा लगानीकर्ताहरुको सक्रियताको गति देखाउँछ। यसले बजार आगामी दिनमा अझै मजबुत बन्ने संकेत दिने विश्लेषकहरु बताउँछन्। 

बिहीबार बजारमा करिब २ अर्बको कारोबार भएको छ। यसको अर्थ नयाँ, पुराना, साना, ठूला सबै खालका लगानीकर्ताहरु बजारमा सक्रिय छन् भन्ने पनि हो। 

यो दिन नेप्से परिसूचकमा १.३९ अंकले घट्दै १३.४४५९ को विन्दुमा सीमित बनेको छ। बलिया तथा राम्रा कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्समा १.३२ अंकले घट्दै २८४.२४ को विन्दुमा झरेको छ। समग्र कारोबार मापक फ्लोट इन्डेक्स पनि ०.१५ अंकको गिरावट आउँदै ९५.२८ को विन्दुमा सीमित बनेको छ। 

आजको दिन नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये सातवटामात्र हरियाली छायो भने पाँचवटामा रातो पोतियो। जीवन बिमा समूहमा १०२.७४ अंकको उछाल आएको यो दिन निर्जीवन बिमा समूहमा ५५.९२ अंकको बढोत्तरी देखियो। व्यापार समूहमा २३.८९ अंक, वित्त समूहमा ०.१८ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३८.६६ अंक, अन्य समूहमा ०.२४ अंक, लघुवित्त समूहमा २९.५४ अंकले वृद्धि भयो। 

होटेल्स् समूहमा ३१.४३ अंकको गिरावट देखिएको आज बैंकिङ समूहमा ८.९४ अंकले घट्यो। विकास बैंक समूहमा ८.६२ अंक, जलविद्युत समूहमा ३.४३७ अंक र म्युचुअल फन्ड समूहमा ०.०५ अंकले घट्यो। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आजको दिन नेप्सेमा सूचीकृत १७२ कम्पनीका ३७ लाख २० हजार ९२ कित्ता सेयर १ अर्ब ७७ करोड ३८ लाख ५ हजार ७४६ रुपैयाँमा कारोबार भयो। 

आज हिमालयन डिस्टिलरी एउटैले १२ करोड ४ लाख रुपैयाँ बढीको कारोबार गर्न सफल भयो। शिवम् सिमेन्टले ९ करोड ७५ लाख रुपैयाँबराबरको कारोबार गरेको आज एसिया लाइफ इन्स्योरेन्सले ६ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार गर्यो। 

आज नागरिक लगानी कोषले ५ करोड ८२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ५ करोड १ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ४ करोड ९० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ४ करोड ६८ लाख रुपैयाँ, स्वरोजगार लघुवित्तले ४ करोड ६० लाख रुपैयाँ, गुराँस लाइफ इन्स्योरेन्सले ४ करोड ४४ लाख रुपैयाँ र छिमेक लघुवित्तले ४ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार गरे। 

धेरै कमाउने र गुमाउनेहरु

आजको दिन हिमालयन डिस्टिलरी (एचडीएल) का सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा बढोत्तरी आई पोजेटिभ सर्किट लाग्यो। त्यस्तै गणपति माइक्रोफाइनान्सको सेयरमूल्यमा पनि झन्डै ९ प्रतिशतको वृद्धि भएको छ।  

आजको दिन नेपाल हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीले गिरावट आयो।