काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको पहिलो चरणको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासनको मिति सारेको छ। 

कम्पनीले भोलि कात्तिक २१ गतेदेखि आईपीओ जारी गर्न भनेको थियो। तर, आज एक सूचना प्रकाशित गर्दै मंसिर ४ गतेबाट आईपीओ निष्कासन गरिने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

क्यापिटलले तिहारको लामो बिदा पर्न गएकोले लगानीकर्ताको सहजतालाई मध्यनजर गर्दै आईपीओ निष्कासन मिति परिवर्तन गरिएको जनाएको छ। तर, केही दिनअघि मात्रै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले हिमालयन रिइन्स्योरेन्सको आईपीओबारे धितोपत्र बोर्डलाई पत्र पठाएर स्पष्टीकरण सोधेको थियो। सोही कारणले पनि यो आईपीओको निष्कासन मिति सारेको हुन सक्ने बताइएको छ।

्कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्रीमा ल्याउनेछ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने कुल सेयरको १० प्रतिशतले हुन आउने ३० लाख कित्ता सेयर बिक्री खुला गरिनेछ। उनीहरुले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। 

यो आईपीओमा अब विदेशमा रहेका नेपाली श्रमिकले आउँदो मंसिर १८ गतेसम्म आवेदन दिन पाउनेछन्।