काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगरमाथाका कारण नेपालको नाम संसारभर फैलिएको छ । नेपाललाई सगरमाथाको देश भनेर पनि विश्वमा चिनिन्छ ।

पछिल्लो समय सगरमाथामा थुप्रिने गरेका फोहोरका कारण थुप्रै आलोचनाहरु पनि नेपालले व्यहोर्नुपुर्या । सरकारी तथा गैरसरकारी निकायहरुले सगरमाथाबाट फोहोर संकलन गरे सफा वातावरण बनाउन ठूलै कसरत पनि गरिरहेका छन् । स्थानीयस्तरमा पनि प्लास्टिकजन्य वस्तु प्रयोगमा रोक लगाइएको छ ।

सगरमाथाबाट संकलन गरिएका फोहोर कहाँ लगेर फालिन्छ वा के गरिन्छ भन्ने कुरा सायद कमैलाई थाहा होला । पर्यटकको एउटा समूह काठमाण्डौको एउटा पाँचतारे होटलमा पानी पिउँदै थिए । पानी पिउँदै गर्दा उनीहरु यो तथ्यबाट विल्कुल अनभिज्ञ थिए कि उनीहरुको हातमा रहेको पानीको ग्लास सगरमाथामा फ्याँकिएका फोहोरबाट बनाइएको हो भनेर । हो यसरी नै सगरमाथाबाट संकलित फोहोर विभिन्न सामग्री गर्न प्रयोग भइरहेका छन् ।

राजधानी काठमाण्डौका होटेलका अलावा नेपालका अरु कयौँ घरहरुमा सगरमाथाको फोहोरबाट रिसाइकल गरेर बनाइएका उत्पादनहरु उपयोग हुँदै आइरहेका छन् । यस्ता रिसाइकल गरिएका वस्तुहरुमा ल्याम्प, ग्लास, दीयो, फुलदानी, भाँडाकुडा इत्यादि छन् ।

सरकारी तथा गैरसरकारी थुप्रै संघसंस्था यतिखेर दशकौँदेखि व्यावसायिक पर्वतारोहणका दौरान भएको नोक्सानको भर्पाइ गर्न र ती समस्यासँग जुध्न नवीन तरिकाले काम गर्न थालेका छन् । अहिले सगरमाथाबाट टनका टन फोहोर उठाइँदैछ । यस्ता फोहोरमा खाली क्यान, ग्यास सिलेन्डर, बोतल, प्लास्टिक तथा पर्वतारोहणसम्बन्धी अन्य सामग्री छन् ।

स्थानीय रिसाइकिलिङ संस्था ब्लू वेस्ट भ्याल्यूका नवीन महर्जन सगरमाथाबाट संकलित फोहोरहरु बेकार जानु नहुने बताउँछन् । उनी भन्छन्, ‘हामी सगरमाथामा थुप्रिएको एल्मुनियम, सिसा, प्लास्टिक र फलाम उठाइरहेका छौँ । यसरी उठाइएका अधिकांश वस्तुहरु रिसाइकिङ गर्न योग्य छन् ।’

सगरमाथाको बिग्रँदो पर्यावरणीय अवस्थालाई लिएर हुँदै आएको आलोचनापछि नेपाल सरकार तथा पर्वतारोहण समूह मिलेर हालै सगरमाथा क्षेत्रमा ६ हप्तासम्म सरसफाइ अभियान चलाएका थिए । सगरमाथाको फोहोरबाट बनेको सामग्रीहरु देखेपछि जोकोही पनि जिब्रो टोक्छन् र उनीहरुको एउटै प्रश्न हुन्छ, ‘फोहोरबाट पनि यस्ता सामान बनाउन सम्भव छ र ?’