– अनन्त्य सुन्दर 

काठमाण्डौ । पछिल्लो समय नेपाली सेयर बजारमा केही अस्थिरता देखिएको छ। राजनीतिक अवस्था, नेपाल धितोपत्र बोर्ड (सेबोन) को विज्ञप्ति, प्राविधिक विश्लेषकहरुको विश्लेषण, मौद्रिक नीतिलगायत विविध विषयले बजारलाई प्रभाव पार्दै आएको छ। 

आज फेरि सर्वोच्चको फैसलाले उकालो लाग्दै गरेको बजारमा अन्तिम समयमा आएर ओरालो लागेको छ। हिजो झन्डै ७० अंकले बढेको बजारमा आज सर्वोच्चको फैसलापछि ४५ अंकको गिरावट आएको छ।

सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै ४८ घन्टामा नयाँ सरकार गठन गर्ने आदेश दिएसँगै बजारमा यसको असर देखिएको छ। ‘बजारमैत्री अर्थमन्त्री आउने वा नआउने अन्योलमा परेकाले आज धेरैजसो सेयर घाटामा भए पनि बेचे’, एक लगानीकर्ताले भने।

बजारका अर्का लगानीकर्ता भन्छन्, ‘विगतमा हेर्ने हो भने काँग्रेसको बनेको सरकार सेयर बजारप्रति सकारात्मक देखिन्छ। त्यसैले बजार केही दिन घटे पनि बढ्ने निश्चित छ। तर त्यसका लागि बजार बुझेका र बजारप्रति सकारात्मक रहेका रामशरण महतजस्ता व्यक्तित्वहरू मन्त्रालयमा हुन् आवश्यक छ।’

सेयर बजारका सक्रिय लगानीकर्ता सरोज ढकाल भन्छन्, ‘राजनीतिले बजारलाई प्रत्यक्ष रूपमा असर गर्ने भएकाले नेपाली राजनीति एउटा निकाससम्म नपुग्दा सेयर बजार अस्थिर नै हुन्छ।’ अहिले लगानीकर्ताले खरिदबिक्री गर्नेभन्दा पनि पर्ख र हेरको अवस्थामा बस्दा उचित हुने उनले बताए।

‘केही दिनदेखि बढ्दो बजार आज झन्डै ४५ अंकले घट्यो। अहिलेको राजनीतिक अवस्थाको असर सेयर बजारमा आज देखियो’, सक्रिय लगानीकर्ता इशु श्रेष्ठले भनिन्, ‘तर विगतका गतिविधि हेर्दा राजनीतिक गतिविधिले बजारलाई केही दिनमात्र असर गर्ने देख्छु। दोस्रो सांसद विगठनले बजारलाई कति असर गर्यो र?’

आफू दीर्घकालीन लगानीकर्ता भएकाले यस्तो गतिविधिले लामो अवधिसम्म बजारलाई असर नगर्ने श्रेष्ठको बुझाइ छ।

अर्का लगानीकर्ता धिरज पौडेल विगतलाई हेर्ने हो भने राजनीतिक गतिविधिले बजारलाई १–२ दिनमात्र असर गरेको उदाहरणहरु थुप्रै रहेको बताउँछन्। ‘त्यसैले सर्वोच्चको यो फैसलाले पनि बजारलाई धेरै असर नगर्ला’, उनी भन्छन्, ‘काँग्रेस सभापति देउवालाई दुई दिनभित्र सरकार गठन गर्नुपर्ने छ। त्यसैले बजार घट्दा पनि यो सातामात्र घट्छ होला। अर्को सातादेखि बजार आफ्नो लयमा जान्छ।’

बजारका सक्रिय लगानीकर्ता उत्सव सापकोटा बढ्दो बजारलाई सेबोनको विज्ञप्ति र संसद विघटन पनि रोक्न नसकेको अवस्थामा राजनीति नयाँ परिदृश्यले खासै असर नगर्ने बताउँछन्। ‘केही समय भने यसको प्रभाव पर्न सक्छ, त्यसैले बजार घट्यो भने पनि त्यसलाई लगानीकर्ताले राम्रा कम्पनीमा आफ्नो  लगानी बढाउने मौकाका रूपमा लिनुपर्छ’, उनले भने।