– प्रकाश न्यौपाने

काठमाण्डौ । सर्वोच्च अदालतको फैसलासँगै लामो समयदेखि अड्किएको पुँजीबजारसँग सम्बन्धित नयाँ व्यापारिक लाइसेन्स वितरण गर्ने बाटो खुलेको छ। 

सर्वोच्च अदालतले नयाँ व्यापारिक लाइन्सेन्स वितरण प्रक्रियाविरुद्ध परेको अधिवक्ता दीपकविक्रम मिश्रको रिट खारेज गरेसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइन्सेन्स वितरण गर्ने बाटो खुलेको हो। गत असोज ३१ गते परेको रिट थुप्रैपटकको सुनुवाइपछि करिब ६ महिनापछि सर्वोच्चले खारेज गर्ने आदेश दिएको छ। 

सेबोनले थालेको नयाँ व्यापारिक लाइसेन्स वितरण गर्ने प्रक्रिया आमलगानीकर्ताको चासोको विषय रहेको छ। लगानीकर्ताका संघसंगठनले लामो समयदेखि उठाउँदै आएका विषयमध्ये नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स पनि रहेका छन्। 

लगानीकर्ताका संघसंगठनले सर्वोच्चको आजको फैसलाको स्वागत गरेका छन्। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल आज सर्वोच्च अदालतले ५५ लाख लगानीकर्ताको पक्षमा फैसला गरेको बताउँछन्। ‘सेबोनले पुँजीबजार विकास र विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया थालेको थियो तर अदालतमा मुद्दा परेर लामो समय रोकियो’, उनले भने, ‘आज अदालतले उक्त मुद्दा खारेज गर्दै सेबोनको पक्षमा फैसला सुनाएको छ। यो सेबोनको मात्रै जित होइन आमलगानीकर्ताको पनि जित हो।’

अध्यक्ष ढकालले सर्वोच्च यो फैसला नेपालको पुँजीबजार विकास र विस्तारका लागि कोशेढुंगा साबित हुने बताए। ‘अब नयाँ ब्रोकर लाइसेन्स छिटोभन्दा छिटो वितरण हुनुपर्छ, यसले दूरदराजमा रहेका लगानीकर्तालाई निकै सहज हुनेछ’, उनले भने। 

त्यस्तै हाल स्टक एक्सचेन्ज धेरै पुरानो र कम क्षमता रहेकोले अब आउने नयाँ स्टक एक्सचेन्ज पूर्णप्रविधिको आउने भएकोले लगानीकर्ताले थप सेवासुविधा पाउने र सहज ढंगले कारोबार गर्ने वातावरण पुँजीबजारमा सिर्जना हुने आशा पनि ढकालले व्यक्त गरे।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि सर्वोच्चको आजको फैसलाले आमलगानीर्ताको जित भएको बताउँछिन्। ‘सम्पूर्ण लगानीकर्तालाई बधाइ छ’, उनले भनिन्, ‘लामो समयदेखि लगानीकर्ताले उठाउँदै आएका माग पूरा हुँदैछ।’

सहरी क्षेत्रमा मात्र सिन्डिकेट रहेको ब्रोकर र एउटामात्र स्टक एक्सचेन्जको अब नयाँ विकल्प आउने हुनाले ब्रोकरहरुको सेवासुविधामा पनि प्रतिस्पर्धा बढ्दै जाने पोखरेल बताउँछिन्। ‘लगानीकर्ताले आफ्नो पायक पर्ने ठाउँबाटै ब्रोकरहरुको सुविधा लिन पाउनेछन्’, उनले भनिन्, ‘अब आउने दिन नेपालको सेयर बजारले फड्को मार्दै जानेछ।’ 

सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल आज आमलगानीकर्ताको जित भएको प्रक्रिया दिए। ‘सेबोनलगायत आमलगानीकर्ता सबैलाई बधाइ छ’, उनले भने, ‘लगानीकर्ताले लामो समयदेखि प्रतीक्षा गरेका थिए। आज त्यसको मीठो फल प्राप्त भएको छ।’

यो फैसलाले दूरदराजमा रहेका लगानीकर्ताको झनै ठूलो न्याय भएको फुल्लेलले बताए। ‘दूरदराजबाट १० कित्ताका लागि पनि काठमाण्डौमा रहेका ब्रोकर हाउस धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ’, उनले भने, ‘लगानीकर्ताले अब आफूलाई सहज हुने स्टक र ब्रोकर छानेर कारोबार गर्ने सुविधाको अवसर पाउनेछन्।’

अब यो फैसलाले बजारमा नयाँ थप लगानीकर्ता भित्रिने फुल्लेल बताउँछन्। ‘लगानीकर्ताले विगतमा भन्दा थप सुविधा पाउने छन्’, उनले भने, ‘सेयर बजारको विकासमा यसले ठूलो फड्को मार्ने हुनाले दीर्घकालमा बजारलाई सकारात्मक प्रभाव पार्नेछ।’