काठमाण्डौ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो प्रयास पनि विफल पारिदिएको छ। सर्वोच्च नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ४८ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश पनि जारी गरेको छ। 

सर्वोच्चले गठन गरेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै उनलाई ४८ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो। सर्वोच्चको यो आदेशले अहिले राजनीतिकवृत्तसँगै सेयर बजार तरंगित बनेको छ। असार लागेयता लगातार घटिरहेको सेयर बजारमा पछिल्लो २ कारोबार दिनदेखि सुधार देखिए पनि सर्वोच्चको आदेशले पुनः प्रभावित भएको छ। योसँगै सुरुआती चरणमा उकालो लागेको बजार पुनः अहिले ओरालो लागेको छ। 

राजनीतिक कारणले नै सेयर बजार पुनः प्रभावित हुन्छ त भन्ने विषयमा हामीले केही बजार जानकारहरुसँग जिज्ञासा राखेका छौँ । 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार सर्वोच्चको आदेशसँगै उत्पन्न राजनीतिक घटनाक्रमले सेयर बजारमा अल्पकालीन असर देखिए पनि दीर्घकालमा खासै प्रभाव नपार्ने बताउँछन्। ‘यो आदेशसँगै २–४ दिन देखिने राजनीतिक जटिलताले बजार केही प्रभावित होला तर ठूलो प्रभाव पार्दैन’, उनले भने।

नेपाली कांग्रेसको सरकार आए पनि पुँजी बजार सकारात्मक नै रहने रौनियारको भनाइ छ। ‘अहिलेका अर्थमन्त्री विष्णु पौडेल बाहिरिँदैमा सेयर बजार प्रभावित हुँदैन’, उनले भने, ‘बजार आफ्नै ढंगले अगाडि बढ्छ।’

अहिले बजारमा सबैखाले मानिस सहभागी रहेकोले सरकारमा जुनसुकै पार्टी वा नेता आए पनि फरक नपर्ने रौनियारको भनाइ छ। ‘सरकार परिवर्तन हुँदा २–३ बजार तलमाथि होला तर आत्तिनुपर्ने अवस्था आउँदैन’, उनले भने।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट पनि सर्वोच्चको आदेशसँगै अब राजनीति ट्रयाकमा आउने भएकोले बजारमा खासै प्रभाव नपर्ने बरु अगाडि बढ्ने बताउँछन्। ‘बजार १–२ दिन प्रभावित हुँदैमा आत्तिनुपर्दैन’, उनले भने, ‘अहिले पुँजी बजार चौतर्फी रुपले सकारात्मक नै छ। बजार बढ्ने हो।’

तरलतासँगै ब्याजदर एकल विन्दुमै रहेकोले राजनीतिककै कारण बजार तल झर्ने सम्भावना कम रहेको बिष्ट बताउँछन्। ‘अहिलेको अवस्थामा कांग्रेसको सरकार पनि सेयर बजारप्रति सकारात्मक रहने आमलगानीकर्ताको बुझाइ छ’, उनले भने। 

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बजार बजार नीतिनियमले चल्ने हुँदा राजनीतिकै कारण प्रभावित नहुने बताइन्। ‘क्षणिक असर देखिएला तर ठूलो प्रभाव पर्दैन’, उनले भनिन्।

अब बजार ह्वात्तै घट्छ भनेर डराइहाल्नुपर्ने र आत्तिहाल्नुपर्ने अवस्था नरहेको पोखरेल बताउँछिन्। ‘बजारका केही खेलाडीले अहिले राजनीतिक परिस्थितिमा बजार घट्छ भनेर हल्ला चलाएर दाउ छोप्ने प्रयासमा रहेको देखिन्छ’, उनले भनिन्, ‘तर बजार कुनै पनि हालतमा घट्दैन, धैर्यताका साथ राम्रा कम्पनीहरुमा लगानी गर्न आमलगानीकर्तालाई सुझाव दिन्छु।’

बजार विश्लेषक गोविन्द घिमिरे अहिलेको राजनीतिक घटनाक्रमले बजारलाई प्रभाव नपर्ने बताउँछन्। ‘आउँदो चुनावसम्म गठबन्धन सरकार नै रहन्छ, चुनाव निर्विकल्प भयो’, उनले भने, ‘चुनावबाट नयाँ पार्टीमा सरकार आएको होइन, पुरानो पार्टी नै आउने हो, त्यसैले तत्काल बजारमा ठूलो असर गर्दैन। डराउनु पर्दैन।’

बजार जानकार रघुनाथ अधिकारी आजको सर्वोच्च अदालतको फैसलाले देशले नयाँ प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्ने बाटो नै तोकिदिएको अवस्थालाई विचार गर्दा यसलाई सेयर लगानीकर्ताहरूले सहज रुपमा स्वीकार गर्ने देखिने बताउँछन्। ‘तुलनात्मक रुपमा वामपन्थी राजनीतिक दलभन्दा लोकतान्त्रिक राजनैतिक दलको छवि बनाएको कांग्रेस सभापति देउवालाई बजारले सकारात्मक रुमपा लिन्छ र बजार अपेक्षित गतिमा अगाडि बढ्छ भन्ने विश्वास आमलगानीकर्तामा छ’, उनले भने, ‘सँगसँै वर्तमान प्रधानमन्त्री केपी ओलीले सत्ता हस्तान्तरण सहज रुपमा गर्लान् त भन्ने आशंका पनि लगानीकर्ताको मनमा भएकोले शंकाको लाभ उठाउनेका लागि पनि यो अवसरका रुपमा आएको देखिन्छ।’

सक्रिय लगानीकर्ता खगेन्द्र ढकाल हाल सर्वोच्च अदालतबाट भएको फैसलाको कार्यान्वयनलाई सत्तासीन पार्टी तथा सरकारले सकारात्मक रुमले लिँदैन कि भन्ने शंका रहेको बताउँछन्। ‘यस सत्ता राजनीतिक परिवर्तनका कारणले नयाँ लगानीकर्तालाई लगानी गर्ने आँंट कम हुन सक्छ र यसको नकारात्मक प्रभाव बजारमा देखिन सक्छ’, उनले भने, ‘ठूला लगानीकर्तालाई समेत पर्ख र हेरको अवस्थामा लैजाने अवस्था बनेको देखिन्छ । परिणामतः १–२ दिन सेयरको मूल्य तथा भोल्युम दुवै घट्न सक्छ । तर लामो समय बजार प्रभावित हुँदैन।’

सहज रुपमा लिई सोहीअनुसार सत्ता हस्तान्तरण भएमा सेयर बजारमा फेरि उछाल आउन सक्ने ढकालको भनाइ छ।