काठमाण्डौ । सुरुआती चरणमा उकालो लागेको बजार आज सोमबार सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै दोहोरो अंकले ओरालो लागेको छ।
आज बजार ४४.९८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८५४.८४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.५८ अंकले घटेर ५३४.८५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने बढेर १० अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
सरस्वती क्याम्पसका एमबीएम निर्देशक केपी पाण्डे सर्वोच्चको आदेशकै कारण आज बढिरहेको बजार प्रभावित भएको बताउँछन्। ‘तर राजनीतिकै कारण बजारमा दीर्घकालीन असर पर्दैन, यो क्षणिक हुन सक्छ’, उनले भने।
अब बजारको दिशा आउँदो मौद्रिक नीतिले तय गर्ने पनि पाण्डेले बताए। ‘मौद्रिक नीति गत वर्षकै जस्तो आउन सक्छ’, उनले भने, बैंकिङ सेक्टरलाई चलायमान बनाउने खालको मौद्रिक नीति आउन सक्छ तर सेयर बजारलाई प्रभावित खालको नीति आउने सम्भावना कम छ।’
बैंकको ब्याजदर खासै बढ्ने सम्भावना नरहेको पाण्डको भनाइ छ। ‘त्यसैले डराउनुपर्दैन, संयम भएर बजारमा कारोबार गर्दा हुन्छ’, उनले भने।
समृद्ध नेपाल लगानी समूह प्रालिका अध्यक्ष पर्वत बिष्ट सर्वोच्च अदालतको आदेशसँगै राजनीतिकवृत्त तरंगित हुँदा आज सेयर बजार पनि प्रभावित भएको बताउँछन्। ‘अझै ३–४ दिन बजार प्रभावित हुन सक्छ’, बिष्टले भने।
अहिले अर्थमन्त्री हट्ने विषयले पनि बजार प्रभावित भएको बिष्टको भनाइ छ। ‘बजार चलायमान बनाउन अहिलेका जस्तै अर्थमन्त्री आउनुपर्छ र आउनेछन् भन्ने लगानीकर्तामा विश्वास छ’, उनले भने, ‘त्यसैले बजार पुनः लयमा फर्किने सम्भावना छ।’
बजार पनि बुलिस ट्रेन्डमै रहेकोले तत्काल ठूलो गिरावट आउने सम्भावना कम रहेको बिष्टले बताए। ‘अब बजार बिस्तार लयमा फर्किनेछ’, उनले भने।
मौद्रिक नीतिपछि बजारमा तीव्र सुधार हुन सक्ने बिष्टको भनाइ छ। ‘अब लगानीकर्ताहरु मौद्रिक नीतिको प्रतीक्षामा छन्, त्यसैले अझै लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्’, उनले भने, ‘मौद्रिक नीतिपछि बजारमा पुनः चमक आउनेछ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामात्रै हरियाली छाएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ३.०३ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह २.६५ अंकले घटेको आज बैंकिङ समूहमा १.१२ प्रतिशत, विकास बैंक समूहमा २.११ प्रतिशत, वित्त समूहमा १.०३ प्रतिशत, जलविद्युत समूहमा २.१४ प्रतिशत, जीवन बीमा समूहमा १.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९१ प्रतिशत, लघुवित्त समूहमा १.३६ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७० प्रतिशत, अन्य समूहमा १.४८ प्रतिशत र व्यापार समूहमा १.६१ प्रतिशतको गिरावट आएको छ।
आज म्युचुअल फन्ड समूहमा ०.१३ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका २ करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर ९ अर्ब ९८ करोड २६ हजार ५२६.९६ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन निर्धन उत्थान लघुवित्तको सर्वाधिक ४७ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ३४ करोड ९१ लाख रुपैयाँबराबरको कारोबार भएको आज राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको २९ करोड ६५ लाख रुपैयाँ, छिमेक लघुवित्तको २६ करोड ३६ लाख रुपैयाँ, नेपाल बैंकको २५ करोड ९४ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको २४ करोड १३ लाख रुपैयाँ, ज्योति विकास बैंकको २३ करोड ८९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २२ करोड ६१ लाख रुपैयाँ, नबिल बैंकको २१ करोड ९१ लाख रुपैयाँ र नेसनल हाइड्रोपावरको १९ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज सेन्ट्रल फाइनान्सका सेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको बढोत्तरी भएको छ।
यो दिन युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र ओरियन्टल होटेलका सेयरधनीहरुले सर्वाधिक गुमाए। यी कम्पनीका सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19