काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका लागि आरडिटी टेस्टलाई सशुल्क गर्न लागिएको विषयलाई तोडमोड गरिएकोमा आपत्ति जनाएको छ । 

मन्त्रालयका आइसीएस कोअर्डिनेटर डा. गुणराज लोहनीले एक विज्ञप्ति प्रकाशित गर्दै स्वेच्छाले परीक्षण गराउनेहरुका लागि मात्र कोरोना टेस्ट सशुल्क गरिएको उल्लेख गर्दै रेट समेत तोकिएको विषय भ्रामक रहेको बताएका हुन् । 

'सूचनालाई तोडमोड गरी केही अनलाइन मिडियाहरुले निजी संस्थाबाट परीक्षण गराउन रु. १५ हजार रेट तोकिएको भनी समाचा सम्प्रेषण भएको र यसैलाई आधार मानी सर्वसाधारणले व्यक्त गरेको अत्यन्त धेरै प्रतिक्रियाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ ।' विज्ञप्तिमा भनिएको छ-'सार्वजनिक अस्पतालहरुमा लामबद्ध भएर समय खेर फाल्न नचाहने र भीडभाडमा गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीहरुको अनुरोधमा नै मन्त्रालयले सशुल्क परीक्षणको व्यवस्था गर्न लागेको हो । निःशुल्क परीक्षण गराउने कि सशुल्क गराउने सो कुरा व्यक्तिको इच्छामा भरपर्ने कुरा हो ।'

सशुल्क परीक्षण गर्ने संस्थाहरुले परीक्षणका लागि  तोकिएको सम्पूर्ण मापदण्डहरु पुर्याएको हुनुपर्ने र यहाँबाट भएका परीक्षणहरुको गोपनीयता कायम गर्दै नियमित रिपोर्टिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्ने हुन्छ । यसप्रकारको परीक्षणका लागि मन्त्रालयले नै दररेट तोकिदिने भएता पनि हालसम्म कुनै दररेट नतोकिसकेको समेत मन्त्रालयले प्रष्ट पारेको छ । 

मन्त्रालयले परीक्षणको दायरा बढाउन समेत सशुल्कको व्यवस्था गर्नुपरेको समेत दाबी गरेको छ । 

'यसका लागि के कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रबन्ध कसरी अपनाउने लगायतका विषयमा छलफल र निर्णय हुन बाँकी नै छ ।'-मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।