काठमाण्डौ । सेयर बजारमा पछिल्लो समय एफपीओको बाढी आएको छ । बाँडफाँड सम्पन्न भएका केही कम्पनीहरुको एफपीओको अध्ययन गर्दा लगानीकर्ताले त्यसको पछाडि लाग्नुु बेकार छ भन्ने देखिन्छ । 

विभिन्न बैंक तथा बित्तीय संस्थाहरुले आफ्ना सेयरधनीको दाबी नपरेको हकप्रद सेयर लिलामीमा राखेका छन् र केही बुद्धि पुर्याएर बिड गर्न सके राम्रा कम्पनीको सेयर बजार मूल्य भन्दा निकै सस्तो दररेटमा पाउन सकिने अवसर छ । 

अर्कोतर्फ, ब्राण्ड मात्र ठूलो, तर बित्तीय सूचक चाहि कमजोर रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रति कित्ता १२ सय ९० रुपैयाँको एफपीओमा आवेदन दिनुु पनि लगानीकर्ताको मुख्र्याई बाहेक केही हुनेछैन । उसो भए यस्तो अवस्थामा कुन कम्पनी र कस्तो सेयरमा लगानी गर्ने होला ? हजूर, बजारमा अहिले चुक्तापूँजी वृद्धिको चटारोले राम्रा कम्पनीको सेयर समेत सस्तो मूल्यमा फालाफालको अवस्था छ। विभिन्न बैंक तथा बित्तीय संस्थाहरुले आफ्ना सेयरधनीको दाबी नपरेको हकप्रद सेयर लिलामीमा राखेका छन् र केही बुद्धि पुर्याएर बिड गर्न सके राम्रा कम्पनीको सेयर बजार मूल्य भन्दा निकै सस्तो दररेटमा पाउन सकिने अवसर छ । 

नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई २०७४ असार मसान्तभित्र तोकिएको चुक्तापूँजी पुर्याउन भनेको छ । यो चटारोमा रहेका बैंक तथा बित्तीय संस्थाहरुले भारि परिमाणमा हकप्रद निश्कासन गरिरहेका छन् । तर, हकप्रद भर्न धेरै सेयरधनीहरुले अनिच्छा देखाउने गरेका छन् । कतिपय सेयरधनीलाई सूचना नै नपुुगेको हुनसक्छ भने कतिपयले मन नगरेका पनि हुनसक्छन् । विविध कारणले सेयरधनीले नलिएको हकप्रद बैंक तथा बित्तीय संस्थाहरुले प्रति कित्ता १ सय रुपैयाँ मूल्य नघट्ने गरी त्यस्ता दाबी नपरेका सेयरहरुलाई लिलामीमा राखेका छन् । 

लिलामीमा राखेका राम्रा कम्पनीको सेयर बजार मूल्य भन्दा २० देखि ३० प्रतिशतसम्म कम मूल्यमा बिड गरेर खरीद गर्ने सुवर्ण अवसरलाई नगुमाउन बजार विश्लेषकहरुले लगानीकर्तालाई आग्रह गरिरहेका छन् । स्ट्याण्डर्ड चार्टर्डजस्तो ब्राण्डेड, तर अधिकांश सूचक कमजोर बन्दै गएको कम्पनीको एफपीओ प्रति कित्ता १२ सय ९० रुपैयाँ हालेर खरीद गर्नुभन्दा लिलामीको सेयरमा बिड लगाउनुु सही हुने उनीहरुको धारणा छ । 

हालै कृषि विकास बैंकले १९ लाख ६८ हजार हकप्रद लिलामीमा राखेको थियो । कृषि विकास बैंक जस्ता धेरै बैंक तथा बित्तीय संस्थाहरुले हकप्रदको लिलामी सम्बन्धी सूचना निकालिसकेका छन् । केहीको लिलामीको प्रक्रिया सुरु भइसकेको छ भने केहीको आउँदैछ । 

कुन कम्पनीको कत्ति सेयर लिलामीमा ?
मेगा बैंक लिमीटेडको २ लाख १७ हजार ८ सय ९० कित्ता साधारण र १ लाख ६८ हजार ९ सय ९२ कित्ता संस्थापक सेयर लिलामीको रुपमा आउँदैछ । यी सेयरको लिलामी आगामी चैत १३ गतेदेखि खुल्नेछ । यस्तै, वेस्टर्न डेभलपमेन्ट बैंकको ६२ हजार १ सय ३४ कित्ता साधारण तथा १ लाख ६३ हजार ५ सय १ कित्ता संस्थापक सेयरको समेत चैत १३ गतेदेखि लिलामी खुल्नेछ । सेती फाइनान्सको १ लाख ८० हजार ३६ कित्ता संस्थापक, हिमालयन बैंकको १ लाख ४५ हजार ५ सय ८० कित्ता सेयरको क्रमशः चैत ११ गते र चैत १० गते लिलामी निस्किदैछ । 

कञ्चन डेभलपमेन्ट बैंकको १३ हजार १ सय ८२ कित्ता फागुन २६ गते बिहीबारदेखि लिलामीमा निस्किएको छ भने जनता बैंक नेपालले चैत १ गतेदेखि ३ लाख ७१ हजार २६ कित्ता साधारण र ३ लाख ९६ हजार ५ सय २६ कित्ता संस्थापक सेयर लिलामीमा आउनेछ । 

माछापुच्छे बैंकको ३ लाख २३ हजार २ सय कित्ता साधारण र ४८ हजार ६ सय २३ कित्ता संस्थापक सेयर फागुन २७ देखि लिलामीमा राखिएको छ भने सगरमाथा फाइनान्सको १ लाख ६७ हजार १ सय ४४ कित्ता साधारण र ७ लाख २० हजार ३ सय १९ संस्थापक सेयरको लिलामी समेत फागुन २६ देखि नै खुलिसकेको छ ।