काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धिका साथ बजार बन्द भएको छ।

सूचीकृत कम्पनीहरुका नाफा घटेको रिपोर्टबाट त्रसित बनेका लगानीकर्ता आज भने सम्हालिएका छन्। कम्पनीहरुको सेयरमूल्यमा निकै कमी आउँदा उच्च खरिदचाप भइरहेको ब्रोकरहरुको दाबी छ। कोरोनाका कारणले अन्य सेक्टरमा लगानी वातावरण नहुँदा सेयर बजारमा निकट समयमा धेर–थोर वार्षिक प्रतिफल लिन पाइने आशामा सेयरमै लगानी ओइरहेको उनीहरुको जिकिर छ।

अघिल्लो साता अधिकांश वाणिज्य बैंकहरुका गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरण सार्वजनिक हुँदा कोरोना कहरबाट व्यापार प्रभावित हुँदा नाफामा असर परेको प्रस्ट देखिएको थियो। त्यसपछि दोस्रो बजारमा लगानी गरिरहेका लगानीकर्तामा निराशा उत्पन्न भयो। जसका कारण हिजो आइतबार दोहोरो अंकले परिसूचकमा गिरावटसमेत आयो।

आजको नियमित समयमा भएको सेयर कारोबारको प्रकृति हेर्दा बजार घट्ने प्रक्षेपणका साथ सस्तो मूल्यमा सेयर उठाउने र अलिक सेयरमूल्य बढाएर बेच्ने समूहबीच निकै रस्साकस्सी नै चलेको देखिन्छ।

अन्य सेक्टर सुषुप्त हुँदा उक्त पैसा सेयर बजारमा नै आउने परिपाटीका कारणसमेत बजारमा खरिदचाप उच्च रहेको विश्लेषकहरु बताउँछन्। कोरोना कहरले सेयर बजारलाई प्रभावित नै पो पार्ने हो कि भनी नेप्से परिसूचक अलिक तल्लो विन्दुमा झरेको खण्डमा सेयर किन्ने जमातसमेत तीव्र पर्खाइमा रहेको विश्लेषकहरुको दाबी छ। यही लगानीकर्ताको द्वेध मनोविज्ञानले बजारमा सेयर किनबेचमा भने उत्साह नआएको बताइन्छ।

आज नेप्से परिसूचक १०.७५ अंकको वृद्धिसँगै १४०२.२१ को विन्दुको उचाइमा पुगेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स १.१४ अंकको बढोत्तरीका साथ २९० को विन्दुमा उक्लिएको छ। 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटामा हरियाली छायो भने एउटामा मात्र रातो पोतियो।

यो दिन निर्जीवन बीमा समूहमा सबैभन्दा बढी १६२.१३ अंक र जीवन बीमा समूहमा १०६.२३ अंकको उछाल आयो। आज बैंकिङ समूहमा ६.५९ अंक, विकास बैंक समूहमा ९.९४ अंक, वित्त समूहमा ०.१७ अंक, होटेल्स् समूहमा १४.१६ अंक, उत्पादन तथा प्रशोधन समूहमा १५.८२ अंक, लघुवित्त समूहमा ७.६३ अंक, म्युचुअल फन्ड समूहमा ०.०४ प्रतिशत, अन्य समूहमा १०.३७ अंक र व्यापार समूहमा ७.१३ अंकको बढोत्तरी भयो। 

आज जलविद्युत् समूहमा १.४७ अंकको गिरावट आयो।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १८४ कम्पनीका ३५ लाख ९१ हजार ४८ कित्ता सेयर १ अर्ब ७ करोड ४९ लाख ३२ हजार ५९७ रुपैयाँमा कारोबार भयो।

यो दिन नेपाल बैंकको उच्च कारोबार भयो। यो बैंकको मात्रै ७ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भयो।

यसैगरी नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ५८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको ५ करोड ७६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ५४ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ३ करोड ९२ लाख रुपैयाँ, एनएमबी बैंकको ३ करोड ७८ लाख रुपैयाँ, कुमारी बैंकको ३ करोड ५८ लाख रुपैयाँ, प्रिमयर इन्स्योरेन्सको ३ करोड ४९ लाख रुपैयाँ र सोल्टी होटेलको ३ करोड १८ लाख रुपेयाँ बढीको कारोबार भयो।

धेरै कमाउने र धेरै गुमाउने

आज साधना लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लाग्यो।

आज छ्याङ्दी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।