►राजु पौडेल
यो बर्ष नेपाली सेयर बजारले सिजनमा पनि लगानीकर्तालाई खुशी बनाउन सकेन । साउन र भदौमा पनि सेयर बजार बढ्न सकेन । 

स्थानीय निकायको चुनावपछि बजार बढ्ने आशामा धेरै लगानीकर्ताहरु बसेका थिए, तर शान्तिपूूर्ण तरिकाले स्थानीय निकायको चुनाव सम्पन्न हुँदा पनि चुनावले बजारलाई कुनै सकारात्मक असर पार्न सकेन । 

विभिन्न कम्पनीहरुले धमाधम आकर्षक लाभांश घोषण गरेर साधारणसभा गरिरहेका छन । आकर्षक बोनसले पनि लगानीकर्तालाई तान्न सकिरहेको छैन । दशैंतिहारपछि  बजार बढ्ने अपेक्षा धेरै लगानीकर्ताको थियो, तर त्यसमा समेत बजारले चिसो पानी खन्याइदियो । चाडपर्व पछि पनि बजार बढ्न सकिरहेको छैन, दिनहुँ घटिरहेको छ । 

मुख्य सिजन र बढ्न भनेकै बेला पनि सेयर बजार नबढेपछि धेरै लगानीकर्ताहरु निराश भएका छ्न । अब मंसिरको चुनावपछि पो बढ्छ कि भन्ने आशाले नयाँ पालुवा हालेको छ । 

यो बर्ष सेयर बजार नबढ्नु पछाडि मुख्य रुपमा दुुई कारण छन् । एकः कम्पनीहरुले चुक्तापँुजी पुर्याउने क्रममा हकप्रद सेयर र बोनस सेयर अधिक मात्रामा जारी गर्दा बजारमा अत्यधिक सेयर आपूर्ति हुनु र दुुईः सेयर कर्जाको ब्याजदर अधिक हुनु ।

उसो भए आगामी दिनमा नेपाली सेयर बजारको अवस्था कस्तो होला ? बजार र लगानीकर्ताको भविष्य कस्तो हुनसक्ला ? यो बिषयमा चर्चा गरौं । 

मंसिर १० र २१ गते दुई चरणमा गरी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने लगभग निश्चित झै छ। 

चुनावी सरगर्मीसँगै देश राजनीतिक रुपमा तीव्र धुुव्रीकरण भएको छ । एकातिर प्रजातान्त्रिक र अर्कोतर्फ बामपन्थी गठबन्धनको रोचक टक्कर आगामी चुनावमा देख्न पाइनेछ । देशमा धेरै पार्टी हुँदा बढी अस्थिरता निम्तिन्छ, अमेरिकामा जस्तो नेपालमा समेत दुुई दलीय अभ्यासतर्फ दलहरु गाडि बढेका हुन् भने त त्यो झनै राम्रो कुरा हुनेछ । 

चुनावमा अब कुनै एक पक्षको बहुमत आउने सम्भावना बढेको छ । बहुमत पछि स्थिर सरकार बन्ने छ, देश संघीय प्रणालीमा जानेछ । त्यसपछि मुलुक राजनीतिक स्थायित्व र आर्थिक उन्नतिको बाटोतिर लम्कने छ । यो अवस्था भनेको बजार तथा लगानीकर्ताका लागि सकारात्मक हो । 

बामपन्थीहरुको बहुमत आयो र कम्युनिस्ट पार्टीको  सरकार बन्यो भने सेयर बजारलाई असर गर्छ कि भन्ने धेरै लगानीकर्ताको आशंका छ, जुन आधारविहीन छ । बामपन्थी शक्तिको बहुमत आएर सरकार बने पनि आत्तिनुपर्ने अवस्था छैन भन्ने कुरा अहिलेसम्म बनेका कम्युनिस्ट सरकारले लिएका आर्थिक नीति र त्यसबाट भएका प्रगतिले पनि देखाइसकेको छ । कम्युनिस्ट  पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीको पालामै नेप्से १८८१ को बिन्दुमा पुगेर नेपालको सेयर बजारले एउटा  नयाँ  इतिहास रचेको कुरा सबैलाई थाहा भएकै कुरा हो । 

सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने राजनीतिक बिषयलाई छोडेर नेपाली सेयर बजार सुधारको चरणमा नियमनकारी निकायले चालेको र चाल्ने कदमले पनि बजार घटबढमा भूमिका खेल्छ । 

लामो समय पछि नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतको रिक्त स्थान पूर्ति भएको छ । नेप्सेमा नयाँ प्रमुखको आगमनसँगै उहाँले बजारको विकासका लागि आफूले पहल गर्ने र आम लगानीकर्ताको हितमा हुने कार्यलाई प्राथमिकतामा राख्ने कुरा सार्वजनिक रुपमै प्रतिबद्धता गरिसक्नु भएका कुराहरु विभिन्न पत्रपत्रिकामा आएका छ्न । उहाँको आगमनसँगै लामो समयदेखि रोकिएको लघुवित्त कम्पनीको सेयर कारोबार छुट्टै समूूहमा राखेर गर्ने कामको सुरुवात भइसकेको छ । 

बजार सुधारको अर्को पहलकदमी कार्य अनलाईन ट्रेडिको सुरुवात छिट्टै गर्ने छौ भन्ने प्रतिबद्धता नेप्से प्रमुखले गर्नु भएको छ । गैरआवासीय नेपालीलाई सेयर बजारमा भित्र्याउने विषयमा हालै चयन भएको संघको नेतृत्वसँग छलफल गरेर सबै समस्याहरु सुल्झाउँदै उनीहरुलाई सेयर बजार खुल्ला गर्ने कुरा अगाडि बढाएका छौ भन्ने कुरा नेप्से प्रमुखबाट आएको छ । 

यस्तै, मार्जिन लेण्डिङ कार्यान्वयनमा ल्याउने कामको अन्तिम तयारी हुँदैछ । राजधानी केन्द्रित सेयर बजारलाई मोफसलका सबै भाग र क्षेत्रमा पुर्याउने योजना अगाडि बढेको छ । आइतबार मात्रै धितोपत्र बोर्डले हकप्रदको आवेदन आस्वाबाट लिने व्यवस्था गर्न तथा लिलामीको सेयरमा उपत्यका बाहिरका केही प्रमुख शहरहरुबाट पनि आवेदन दिने व्यवस्था गर्न मातहतका निकायलाई परिपत्र गरेको छ ।  

मुलुक चुनावपछि संघीयतामा जानेछ, त्यो अवस्थामा नेप्सेको पुनरसंरचनाको काम पनि अगाडि बढ्ने छ । सात प्रदेशमा नै नेप्सेको उपस्थिति हुनेछ । 

सेयर बजारलाई देशब्यापी बनाउन ब्रोकर थप्ने वा अझै रिमोट वर्क स्टेसन विस्तार गर्ने वा ब्रोकरहरुको सव एजेन्ट बनाएर उनीहरुलाई सक्रिय बनाउने वा बैंकहरुलाई ब्रोकर लाईसेन्स दिएर अगाडि बढ्ने भन्ने बारेमा व्यापक छलफल हुँदैछ । 

नागरिक लगानी कोष र सञ्चय कोषलाई बजार निर्माता बनाउने बारेमा नागरिक लगानी कोषका कार्यकारी प्रमुखसँग एक चरण वार्ता भइ सकेको कुरा नेप्से प्रमुखले भन्नुुभएको छ । यो कुराबाट पनि छिटै बजार निर्माताको व्यवस्था हुनेछ भन्ने आशा गर्न सकिन्छ । समयमा वित्तीय विवरण सार्वजनिक नगर्ने र समयमा साधारणसभा नगर्ने कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता पनि सुनिएको छ । बजारमा कायम हुने सुशासनले पनि बजार वृद्धिमा सहयोग गर्नेछ । 

माथि उल्लिखित सकारात्मक कुराहरू(जो छिटै कार्यान्वयन हुने चरणमा छन्)लाई आधार मानेर भन्ने हो भने नेपाली सेयरबजारले निकट भविष्यमै एउटा स्वर्णिम इतिहास रच्नेछ भन्न सकिन्छ । यी सबै आधारहरु हेर्दा समेत नेपाली पूँजीबजारको भविष्य म उज्वल देख्छुु । 

यो बर्ष सेयर बजार बढ्न नसक्नुको प्रमुख कारणको रुपमा रहेका कर्जाको उच्च ब्याजदर र सेयरको अधिक आपूर्तिको समस्या पनि समाधान हुनेछन् । अहिले बैंकमा तरलता प्रशस्त मात्रामा भएको र आगामी मंसिरमा चुनाव हुने सुनिश्चितता भएकाले बजारमा तरलता अझै बढने निश्चित छ, जसले गर्दा बैंकहरुले सेयर कर्जाको ब्याजदर घटाउन बाध्य हुनुपर्ने अवस्था आउनेछ । यसले बजारमा सेयर आपूर्तिलाई सन्तुलन गर्दै सेयरको माघ बढाउने सम्भावना बढ्नेछ । त्यसैगरी, ब्रोकर कम्पनीलाई मार्जिन लेण्डिङको सुविधा उपलब्ध गराइएपछि बजारमा सेयरको माग बढाउन मद्दत पुर्याउने निश्चित छ, जसले बजारलाई थप नयाँ उचाइमा लान मद्दत हुनेछ ।

बैंकलाई सेयर ब्रोकरको लाइसेन्स प्रदान गर्ने दिशामा नेप्से सकारात्मक रहेको देखिएको छ । अहिलेको सेयर आपूर्तिको तुलनामा खपत हुने वातावरण  निर्माणका लागि, सेयरको सुलभ कर्जाका लागि बैंकलाई ब्रोकर लाईसेन्स दिनै पर्छ । बैंकलाई ब्रोकर लाईसेन्सको अनुमति दिदा देशभरिबाट सेयरको कारोबार हुने वातावरण सिर्जना हुन गई सेयरको माग पनि बढ्नेछ, जसले बढदो आपूर्तिलाई सन्तुलन गर्न सघाउ पुर्याउँछ । 

यी विविध सकारात्मक कुराहरूले नेपाली सेयर बजारका आगामी दिन एकदमै सुनौला छ्न । त्यसकारण सेयर बजारमा लगानी गर्न चाहनेहरुका लागि बजार सस्तिएको वर्तमान अवस्थामा निकै सहज देखिएको छ, जसलाई सेयर खरिद गर्ने मौकाको रूपमा लिन सकिन्छ । चुनावपछि मुलुकमा राजनीति स्थायित्व र आर्थिक उन्नतिको बाटोतिर देश लम्कने अवस्थामा अहिलेको लगानीबाट राम्रो प्रतिफल आउने सुनिश्चित छ । तर, सेयरबजार सधै जोखिमयुक्त रहने भएकाले सेयरमा लगानी गर्दा सही कम्पनी छनौट गर्न भने चुक्नु हुँदैन । अहिले ज्यादै राम्रा–राम्रा कम्पनीको सेयर मूूल्य निकै कम छ, यही हो सेयरमा लगानी गर्ने मौका, यो मौकालाई खेर जान नदिनुहोस् ।

(लेखक सेयर बजारका अध्येता हुन् ।)