काठमाण्डौ । बजार घटेर न्यून स्तरमै झरेको बेला राम्रा र बलिया कम्पनीका सेयर सस्तो मूल्यमै फालाफाल पाइने दुर्लभ अवसरको सदुपयोग गर्न लगानीकर्ता कस्सिएका छन् । राम्रा कम्पनीको सेयर छानी छानी सस्तो मूल्यमै पाइने भएपछि बुधबार बजारमा खरीद चाप देखिएको छ । यहीकारण नेप्से परिसूचक यो दिन बढेको हो ।
बजार घटेर न्यून विन्दूमा झरेको समय नै सेयर बजारमा प्रवेश गर्ने उपयुक्त समय हो भन्ने कुरा बुझेकाहरुले धमाधम खरीद गरिरहेका छन् । यो क्रम आगामी दिनमा अझै बढ्ने लगानीकर्ताको विश्वास छ ।
पुराना र अनुभवी लगानीकर्ताले समेत सस्तोमै सेयर पाइने अहिलेको जस्तो दुर्लभ अवसर फेरि नआउने भन्दै बजारमा प्रवेश गर्ने सही समयको सदुपयोग गर्न नवप्रवेशी लगानीकर्तालाई समेत आग्रह गरेका छन् । सेयर बजार घटेपछि बढ्ने यसको नियम हो भन्दै ती लगानीकर्ताहरुले बजार घटेको बेला खरीद गरेर होल्ड गर्न सकिए निश्चित समयपछि त्यस्तो सेयरले नसोचेको रिटर्न दिने समेत दाबी गरेका छन् ।
मंगलबारको तुलनामा बुधबार नेप्से परिसूचक ४.६२ अंकले बढेर ११९९.४२ को विन्दूमा पुगे पनि कारोबार रकम घटेको छ । परिसूचकसँगै बढ्नुपर्ने कारोबार रकम घट्नु सुखद पक्ष होइन । तर, नयाँ र पुराना लगानीकर्ताले समेत कुरा बुझेर घटेकै बेला सेयर उठाउन तम्सिए भने यो अवस्था आगामी दिनमा सुध्रने विश्वासन गर्नेहरु समेत धेरै छन् ।
यो दिन बजारमा ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा सुधार भएका कारण सेन्सेटिभ इण्डेक्स १.११ अंकले बढेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३५ अंकको बढोत्तरी देखिएको छ ।
यो दिन जलविद्युत समूह ४.४७ अंकले घटेको छ । यस्तै, उत्पादनमूलक १९.८८ र बिमा समूह ४.५८ अंकले घटेका छन् । बाँकी सबै समूहको सूचक बढेको छ ।
बैंकिङ समूह ५.७५ अंकले बढेको यो दिन विकास बैंक, माइक्रोफाइनान्स, होटल समूहमा क्रमशः ११.९४, ४.४४, २०.६७ अंकको वृद्धि भएको छ । यस्तै, बित्त समूहमा ०.२१ अंकको झिनो वृद्धि देखिएको छ भने अन्य समूह ४.१८ अंकले बढेको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५७ कम्पनीका ५ लाख ८३ हजार ७ सय ३२ कित्ता सेयर १७ करोड ३० लाख ७७ हजार ६ सय ९१ रुपैयाँमा कारोबार भएको छ ।
यो दिन सबैभन्दा बढी नेको इन्स्योरेन्सले ९२ लाख भन्दा केही बढीको कारोबार गरेको छ । यस्तै, मेगा बैंकले ९० लाख, प्राइम कमर्सियलले ६९ लाख, एभरेष्ट बैंकले ६३ लाख, बुटवल पावर कम्पनीले ५४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ५० लाख बढीको कारोबार गरे । मेगा बैंकको ४७ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एनएलजी इन्स्योरेन्सले ४७ लाख, नेपाल बैंकले ४५ लाख र नवील बैंकले ४४ लाख बढीको कारोबार गरेका छन् ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५.३१ प्रतिशतले वृद्धि भयो । नेपाल सेवा लघुवित्त बित्तीय संस्थाको सेयर मूल्य समेत ५ प्रतिशतको हाराहारीमा बढ्यो ।
यो दिन रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago