काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारी संस्थाहरुको अर्बौं रकम हिनामिनामा संलग्न केदारनाथ शर्मालाई पक्राउ गरेको छ। 

बाँकेको कोहलपुर–३का बासिन्दा ४२ वर्षीय शर्मा सोमबार पक्राउ परेका हुन्। उनलाई नेपालगन्ज–१५ पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी एसपी सञ्जयसिंह थापाले जानकारी दिए।

शर्मामाथि भक्तपुरको कौशलटारस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका १ लाख ६८ हजार ७२५ जना निक्षेपकर्ता सदस्यहरुले संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार ५८६.५१ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। उनले मोरङको विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार १५४ जना निक्षेपकर्ता सदस्यले संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ हिनामिना गरेको आरोप पनि लागेको छ। 

ती दुवै सहकारीको उक्त रकम प्रचलित सहकारी ऐन र नियमावलीविपरीत सहकारी संस्थाबाट आफू र आफ्ना नजिकका व्यक्तिको नाममा सञ्चालित ४३ वटा विभिन्न कम्पनीमा ऋण लगानी गरेको पाइएको एसपी थापाल जानकारी दिए। ‘उक्त रकमको साँवा–ब्याजसमेत सहकारी संस्थाम फिर्ता नगरी, सहकारी संस्थामा रहेको निक्षेप रकम बाट आफू र आफ्ना नजिकका ब्यक्तिको नाममा जग्गा–जमिन तथा सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई नोक्सानी पुर्याउने कार्यमा संलग्न रहेको पाइएको छ’, उनले भने। 

शर्मा शिवशिखर बहुउद्देश्यीय सहकारी सञ्चालक समितिको निवर्तमान अध्यक्ष, तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाइजेसनका सञ्चालक हुन्।