काठमाण्डौ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गर्दै सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार मन्त्रिपरिषदले सहरी क्षेत्रका विद्यालयहरु बन्द गरी भर्चुअल कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। 

सीसीएमसी गत शनिबार बसेको बैठकले वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको थियो। 

केही दिनयता देशभर कोरोना संक्रमण बढ्दै गएको छ। विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै विद्यालयहरु बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गर्नुपर्ने बताउँदै आएको थियो।