काठमाण्डौ । हिन्दु धर्मावलम्बीहरुको महान् चाड दसैँतिहारको उपलक्ष्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेको छ। 

व्यापार कम्पनीद्वारा सञ्चालित रामशाहपथमा रहेको खाद्यान्न बिक्री कक्ष नं ३ मा पुग्दा उपभोक्ताको बाक्लै उपस्थिति थियो। उपभोक्ताहरु दसैँका लागि धमाधम खाद्यवस्तु खरिद गरिरहेका थिए। पसलमा उपभोक्तालाई चामल, दाल, चिउरा, तेल, घ्यूलगायत अन्य वस्तु छुटमा उपलब्ध छ।

गत असोज १ गतेबाट देशभर दसैंलक्षित यस्ता ८१ वटा सहुलियत पसल सञ्चालन भएका छन्। यी पसलहरु साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सञ्चालन गरिएका छन्। ती पसल असोज २४ गतेसम्म सञ्चालन हुनेछन्।

काठमाण्डौ उपत्यकासहितका ४० जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४३ वटा र बाँकी ३८ वटा सहुलियत पसल साल्ट ट्रेडिङले सञ्चालन गरेका छन्।