काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले रु. ७५ करोडको ऋणपत्र निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले गत वैशाख ६ गते सांग्रिला डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको हो। यो अनुमतिसँगै बैंकले अब १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार इकाइ भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चेर–२०८७’ नामक ऋणपत्र निष्कासन गर्नेछ।

दसवर्षे यो ऋणपत्रका कुल इकाइमध्ये ४ लाख ५० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी ३ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ। यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।  

यो ऋणपत्रमा बैंकले लगानीकर्ताहरुलाई वार्षिक ९ प्रतिशत ब्याज उपलब्ध गराउनेछ। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।